सकिँदै खेतबारी, मँहगिँदै खाद्यान्न र तरकारी, विषादीयुक्त खानाले बढ्दै बिरामी !

What To Know

  • जति पनि तरकारी छ, त्यो जमिनमा फल्छ । अन्न उब्जनी हुने पनि जमिनमै हो । खेतीयोग्य जमिन बाटो र घर बनाएर सखाप भइसकेको छ । उपत्यकाभित्र होस् या बाहिर, खेतबारी देख्न मुश्किल पर्न थालेको छ । गाउँको खेतबारी बाँझो छ । गाँउबासीहरु शहर र विदेश पस्दा गाउँमा कोही भेटिँदैनन ।.
  • अहिले पसलैपिच्छे रेट छ । कुनैमा १४ सय कुनैमा १५ सय । खसी भन्दै बाख्रा पनि बेच्ने गरिएको छ । ६ सय रुपैयाँ किलोको राँगाको मासु झण्डै आठ सय रुपैयाँ किलो पुगेको छ । यहाँ त राँगा भनेर भैंसी मिसाएर बेचिन्छ । बुंगुर भनेर सुंगुरको मासु बेचिन्छ । यसको पनि पसलैपिच्छे बेग्लाबेग्लै रेट छ ।.

अनुसा थापा
ह्रियो सागपात स्वास्थ्यका लागि लाभदायक तरकारी हो । सर्वसाधारण बिहानबेलुका हरियो सागपात र तरकारी खान रुचाउँछन् । यता, डाक्टरहरुले पनि सागपात र हरियो तरकारी खानामा छुटाउनुहुँदैन भन्छन् । सागपातमा रायो, चमसुर, तोरी, पालुङ्गो, मेथी, गान्टेमूला, हरियो लसुन, प्याज, धनियाँ, मूलालगायत पर्दछ ।

काउली, बन्दा, खुर्सानी, टमाटर, सिमी, बोडी, काँक्रोलगायत धेरै भेराइटीका हरियो तरकारी बजारमा पाइन्छ । तर, अहिले तरकारी छोइनसक्नु भएको छ । केही समयपछि भातमा नुन हालेर खानुपर्ने अवस्था आउने देखिएको छ । साग पनि किलोमा बेच्न थालिएको छ । एक किलो सागको दुईदेखि तीन सय रुपैयाँ पर्छ ।

एक मुठो सागको ३० देखि ५० रुपैयाँ पर्छ । हरियो लसुन त झन् मँहगो छ । दुईटा पत्ता राखेर २० देखि ३० रुपैयाँमा बेचिन्छ । अन्य हरियो तरकारीको भाउ पनि आकाशिएको छ । डेढ सय रुपैयाँ किलोभन्दा कममा कुनै तरकारी नै पाइँदैन । अनि सर्वसाधारणले कसरी खाने ? तरकारीको भाउ मँहगिदा सर्वसाधारणलाई बिहान बेलुका चुल्हो बाल्न धौं धौं परेको छ ।

जति पनि तरकारी छ, त्यो जमिनमा फल्छ । अन्न उब्जनी हुने पनि जमिनमै हो । खेतीयोग्य जमिन बाटो र घर बनाएर सखाप भइसकेको छ । उपत्यकाभित्र होस् या बाहिर, खेतबारी देख्न मुश्किल पर्न थालेको छ । गाउँको खेतबारी बाँझो छ । गाँउबासीहरु शहर र विदेश पस्दा गाउँमा कोही भेटिँदैनन ।

घरमा ताल्चा लगाएको छ, खेतमा झार उम्रिएको छ । तरकारी र अन्न नभईकन कोही बाँच्न सक्दैन । घरधनी होस् या भाडामा बस्ने, दिनमा दुईपटक तरकारी पकाउनैपर्छ । यहाँ उत्पादन छैन, बाहिरबाट आयात गर्नुपर्छ । नेपाली बजारमा आइपुग्दा तरकारीको भाउले आकाश छोइसक्छ ।

प्हिलेपहिले सर्वसाधारणलाई आफ्नै खेतबारीमा उब्जाएको अन्न र तरकारीले पुग्थ्यो । अन्न र तरकारी उब्जनीका लागि चाहिने मलका निम्ति उनीहरुले गाईँ, भैंसी, गोरु, बाख्रा, भेडा, कुखुरा पाल्ने गर्दथें । एकातिर घरमै दूध र मासु उत्पादन हुने, अर्कोतिर बालीनाली र तरकारी पनि मज्जाले फल्ने ।

काठमाडौं उपत्यकासहित देशको शहरी एरियामा घर भएकाहरुसँग तरकारी खेती गर्ने जग्गा छैन । कोठा बस्ने त कहाँकहाँबाट आएका हुन्छन्, उनीहरुसँग के जग्गा हुन्थ्यो । जग्गा भएपछि रोपेर मात्र अन्न र तरकारी फल्दैन । गाईवस्तुको मल चाहिन्छ । अहिले त कसैले गाईँवस्तु नै पालेको देखिँदैन ।

अनि युरिया मलको भर परेर मात्र कसरी तरकारी र अन्न फल्छ ? खानु सबैलाई छ, तर उब्जनी कसैलाई गर्नु छैन । जसका कारण तरकारीको भाउ ह्वात्तै बढेको हो । कसैकसैले मात्र व्यवसायिक खेती गर्न थालेका छन् । तैपनि, मलको चरम अभाव छ । बिचौलियाले कुखुरा फर्मबाट तीन सयमा उठाएको ७५ किलोको बोराको मल आठदेखि ९ सयमा बेच्छन् ।

त्यो मल लगेर उनीहरुले खेतमा हाल्छन् । अनि मलको पैसा कोसँग असुलिन्छ ? ग्राहकसँग । कुखुराको मासुदेखि अण्डासम्म बिक्री गर्छ । केही महिनायता अण्डाको भाउ ह्वात्तै बढेको छ । उपत्यकाभित्र घडेरी आनाको २५ लाखदेखि करोडसम्म पर्छ । त्यो घडेरीको मूल्य पनि तरकारीमा जोडिन्छ ।

पछिल्लो समय किसान बन्न सबैलाई लाज लाग्न थाल्यो । समाजले पनि किसानलाई नराम्रो दृष्टिकोणले हेर्न थालेको छ । सबै जागिर खाने, विदेश जाने, तर कोही खेती नगर्ने । जबकि, किसानबिना संसार टिक्नै सक्दैन । यदि किसानले अन्न नउब्जाउने हो भने पैसा भएर पनि काम छैन ।

त्यसैले किसानलाई सम्मान गरौं । उनीहरुले खेती गरेका छन् र हामीले खान पाएका छौं । सानो परिवारलाई २५ सयदेखि तीन हजार रुपैयाँ बोराको चामलले एक महिना धान्छ । तर, तरकारीमा चाँहि आठदेखि १० हजार रुपैयाँ सकिन्छ । उपत्यकाभित्र बस्नेले न धित मर्नेगरी तरकारी खान पाउँछन् न पानी ।

किन कि, यहाँ पानी पनि किन्नुपर्ने अवस्था छ । एक जार पानीको ६० देखि ८० रुपैयाँ पर्छ । मिनिरल वाटर २० देखि २५ रुपैयाँ पर्छ । त्यो मिनिरल वाटर दुई घुट्की लिँदै सकिन्छ । दही, दूध, घिऊ सबै मिसावट आउँछ । तैपनि एकदमै मँहगो छ । खसीको मासु केही समय अघिसम्म साढे १३ सय किलो थियो ।

अहिले पसलैपिच्छे रेट छ । कुनैमा १४ सय कुनैमा १५ सय । खसी भन्दै बाख्रा पनि बेच्ने गरिएको छ । ६ सय रुपैयाँ किलोको राँगाको मासु झण्डै आठ सय रुपैयाँ किलो पुगेको छ । यहाँ त राँगा भनेर भैंसी मिसाएर बेचिन्छ । बुंगुर भनेर सुंगुरको मासु बेचिन्छ । यसको पनि पसलैपिच्छे बेग्लाबेग्लै रेट छ ।

फर्म र गाडीमा ओसारपसार गर्दा मरेका कुखुरा पनि मासु पसलेले बेच्छन् । बजारमा सबै उपभोग्य सामान मँहगो त छँदैछ, सँगै मिसावट र विषादीयुक्त पनि छ । अन्न र तरकारीमा विषादी मिसाइएको हुन्छ । तर, सरकारले परीक्षण गर्दैन । मँहगो पैसा तिरेर सर्वसाधारणले आफ्नो स्वास्थ्यलाई हानि पुर्याइरहेका छन् ।

यी विषादीयुक्त खाद्यान्नका कारण धेरै रोगी बनेका छन् । तर, नखाई नहुने बाध्यता छ । नखाऊँ भने के खाऊँ ? खाऊँ भने कसरी खाऊँ ? को अवस्थामा सर्वसाधारण छन् । अहिले भान्सामा पाक्ने सबै बजारबाट आउँछ । पहिलेपहिले आफ्नो खेतबारीको कोदो, मकै, धान, गहुँ, मस्याङ्ग, सिमी हुन्थ्यों ।

बजारमा यी वस्तु पाइन्छ, तर गुणस्तरहीन र मिसावटयुक्त । विगतमा मान्छेहरु कोदो र मकै खाएर आफ्नो स्वास्थ्य राम्रो बनाउँथे, अहिलेका मान्छेहरु विषादीयुक्त खान खाएर आफ्नो ज्यान सकाइरहेका छन् । भन्नलाई नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, कुनैपनि वस्तुमा नेपाल आत्मनिर्भर छैन ।

कृषि क्षेत्रको विकासका लागि मुलुकमा कृषि तथा पशुपन्छी मन्त्रालय छ । तर, कृषि मन्त्रालयले के गर्यो ? बाहिरबाट खाद्यान्न ल्याएर खान सिकायो । भूमि मन्त्रालयले जग्गा सकाउने काम गर्यो । जग्गा प्लानिङ गर्न दिने अनि यति राजश्व उठ्यो भन्ने । जहाँ खेतीपानी हुन्थ्यो, त्यहाँ अहिले घर छ । सबैतिर घर बनेपछि जनताले खान्छन्चाँहि के ?

यी दुई मन्त्रालयले विदेशीको पक्षमा काम गरेको देखिन्छ । यी दुई मन्त्रालयले राम्रो काम गरेको भए न आज मुलुक अस्तव्यस्त हुन्थ्यो न खाद्यान्नका लागि बाहिरी मुलुकको भार पर्नुपर्थ्यो । कृषिप्रधान देश भनेको छ, एक किलो सागलाई तीन सय रुपैयाँ पर्छ । जलस्रोतको धनी देश भनिएको छ, पानी बोतल र जारमा किन्नुपर्छ ।

यता, नेपालीले पनि गरिखान जानेनन् । उनीहरुले ठग्न पनि सिके । जसरी हुन्छ ठग्ने, अनि आफू मोटाउने । राजनीतिक दलले पनि यही गरे, जनता पनि त्यही बाटो हिँडेका छन् । एउटाले अर्कोलाई ठग्ने, सम्पत्ति जोड्ने । नेपालीले हातमा दुईटा मोबाइल बोक्न, कोट लगाउन र ठग्न मात्र जाने ।

सरकारले जनतालाई कृषि गर्न प्रोत्साहन गरेन । बरु, जनतालाई धमाधम विदेश जान प्रोत्साहन गरो । कृषि पेशा गरिरहेकाहरु सबै वैदेशिक रोजगारीमा गइरहेका छन् । सबै विदेश हिँडेपछि कसले कृषि गर्ने ? जुन देश कृषिमा आत्मनिर्भर हुन्छ, त्यो देश कसैको सामुन्ने निहुँरिन पर्दैन ।

विडम्बना, सरकारले नै जनतालाई अरुको अगाडि हात फैलाउनुपर्ने अवस्थामा पुर्याएको छ । छिमेकीले खाद्यान्न रोकिदियो भने जनता भोकभोकै मर्नुपर्छ । राजनीतिक दलले देश र जनतालाई यो अवस्थामा पुर्याए । अब नेपाल कृषिप्रधान र जलस्रोतको धनी देश भन्न छोड्नुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *