मुसिकोटकाे गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना

What To Know

  • पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कर्म फ्लाइट्स फाउण्डेशन नेपालले बालबालिकाको शिक्षा सुधारमा उल्लेखनीय काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो। साथै, यस्ता शैक्षिक गतिविधिमा मुसिकोट नगरपालिकाले आवश्यक साथ, सहयोग र साझेदारी गर्न तयार रहेको पनि उहाँले बताउनुभयो।.
  • कार्यक्रमका अवसरमा नगरप्रमुख जीवलाल खरेल जीवन, महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्मा तथा कर्म फ्लाइट्स फाउण्डेशन नेपालका प्रतिनिधिहरूलाई फुलमाला, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयका जन्मदिन कोषदाता तथा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।.

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित एक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ। कर्म फ्लाइट्स फाउण्डेशन नेपाल, कास्कीले मुसिकोट नगरपालिका वडा नं. २ अन्तर्गत श्री गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।

पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कर्म फ्लाइट्स फाउण्डेशन नेपालले बालबालिकाको शिक्षा सुधारमा उल्लेखनीय काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो। साथै, यस्ता शैक्षिक गतिविधिमा मुसिकोट नगरपालिकाले आवश्यक साथ, सहयोग र साझेदारी गर्न तयार रहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल शिक्षक महासंघ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले दुर्गम क्षेत्रका विद्यालयमा पुस्तकालय स्थापना गरेर फाउण्डेशनले शैक्षिक क्षेत्रमा राम्रो योगदान दिएको उल्लेख गर्नुभयो। उहाँले उपलब्ध गराइएका पुस्तकहरू विद्यालयका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो।

त्यसैगरी विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व वडा सदस्य नरबहादुर खत्रीले पुस्तकालयका पुस्तकहरूले बालबालिकाको ज्ञान अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो।

सोही अवसरमा विद्यालयका कोषदाता तथा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेलले यो मुसिकोट नगरपालिकाभित्र नयाँ र सकारात्मक पहल भएको बताउँदै विद्यालयले गर्दै आएका नवीन कार्यक्रमहरूमा सधैं सहयोग गर्न तयार रहेको जनाउनुभयो।

Education For Life (EFL) Norway का नेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेलले विद्यालयका लागि ५ सय १ प्रति पुस्तक, शैक्षिक सामग्री तथा नगदसहित करिब ७५ हजार रुपैयाँ बराबरको पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले पुस्तकालयको सही सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नुभयो।

पुस्तकालय हस्तान्तरण कार्यक्रममा स्विट्जरल्याण्डका नागरिक निकोल बर्जरले विद्यालयमा आउन पाउँदा खुशी लागेको बताउँदै पुस्तकालयबाट विद्यार्थीहरूले धेरै फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसले विद्यार्थीको भविष्य निर्माणमा ठूलो सहयोग पुग्ने आशा व्यक्त गर्दै विद्यालयले दिएको स्वागत र सम्मानप्रति धन्यवाद दिनुभयो। आगामी दिनमा पनि विद्यालय भ्रमणको अवसर मिलोस् भन्ने चाहना समेत उहाँले व्यक्त गर्नुभयो।

कर्म फ्लाइट्स फाउण्डेशन नेपालका निर्देशक प्रेमबहादुर कुँवरले फाउण्डेशनले विगत केही वर्षदेखि देशका ग्रामीण क्षेत्रका विद्यालयहरूमा शैक्षिक सुधार, छात्र सहायता, विद्यालय पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षा लगायतका सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो।

गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले फाउण्डेशनप्रति धन्यवाद व्यक्त गर्दै पुस्तकालय स्थापनाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने र पठन संस्कारको विकासमा समेत टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा Education For Life (EFL) Norway का नेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेल, Gender Equity and Social Action (GESA) परियोजना अधिकृत सौगात अधिकारी, स्विट्जरल्याण्डका नागरिक निकोल बर्जर, नेदरल्याण्ड्सका नागरिक लुक भान मेरियन र मारिन्दा भान डेन ब्लिङ्क, बिपिन परियारलगायत विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक–अभिभावक संघ, अक्षयकोषदाता, जन्मदिन कोषदाता, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा निकोल राल्फकाको सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी र पेन वितरण गरिएको थियो। साथै अन्तर्राष्ट्रिय नर्सहरूले विद्यार्थीहरूका लागि स्वास्थ्य सरसफाइसम्बन्धी तालिमको सहजीकरण गरेका थिए।

कार्यक्रमका अवसरमा नगरप्रमुख जीवलाल खरेल जीवन, महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्मा तथा कर्म फ्लाइट्स फाउण्डेशन नेपालका प्रतिनिधिहरूलाई फुलमाला, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयका जन्मदिन कोषदाता तथा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

यसै अवसरमा सोही वडाको श्री नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा पनि पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको जानकारी दिइएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *