नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !
रुषा थापा
पछिल्लो समय घरेलु तथा सिल प्याक मदिरा बेचबिखन गर्ने ह्वात्तै बढेका छन् । गाउँदेखि शहरसम्म मदिरा बेचिन्छ । मदिरा बेच्दा सीमित व्यापारीलाई फाइदा पुगिरहेको छ भने आम नागरिकको स्वास्थ्य र घरपरिवार लथालिंग अवस्थामा पुगेको छ । रक्सीले परिवारमा कलह ल्याएको छ । दिनहुँ झैझगडा हुन्छ ।
रक्सी खाएको बेला सानो कुरामा झगडा हुँदा काटमारसमेत हुने गरेको छ । कतिपय चाँहि आत्महत्या गर्छन् । रक्सीले मानिसको जीवन सिध्याइरहेको छ । मदिरा खाने अधिकांशको मिर्गौला, कलेजो, फोक्सो काम नलाग्ने अवस्थामा पुग्छ । अहिले भर्खरका युवायुवतीसमेत मदिरा, लागू औषधमा फसेर भविष्य चक्नापुर भएको पाइन्छ ।
यता, मदिरा पनि नक्कली आउन थालेको छ । सिल प्याक महंगो भनिएका मदिरासमेत नक्कली भेटिन्छ । घरेलु रक्सी त देशी मल, भैंसीको हड्डी, पुराना लुगा र छालाका जुत्ता, सख्खरलगायतबाट बनाइन्छ । भन्ने बेला पसलेले चामल र कोदोको रक्सी भन्छन् तर यस्ता रक्सी बेचेर मानिसको पैसासँगै ज्यानै सिध्याइदिन्छन् ।
काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लाहरुमा घरैपिच्छे रक्सी पसल भेटिन्छन् । त्यहाँ यस्ता रकसी बेचिरहेको छ । भर्खरका युवायुवतीसहित बुढाबुढीहरुले समेत रक्सी खाइरहेको देखिन्छ । पसलेले जति भन्छन्, त्यति नै तिरेर उनीहरुले खान्छन् । तर, त्यो रक्सीले पैसासँगै उनीहरुको ज्यानै सिध्याउँछ । घरपरिवारबाट टाढा बनाउँछ ।
पहिले करोडपति भएको व्यक्तिलाई समेत सडकछाप अवस्थामा पुर्याउँछ । रक्सीले धेरै मानिसको जीवन सखाप पारिरहेको छ । यद्यपि, सरकार केही पनि गर्दैन । गृह मन्त्रालय घरेलु तथा सिल प्याक मदिरा बेचबिखनमा रोक लगाउन ७७ वटै सिडियो कार्यालयलाई निर्देशन दिँदैन । स्थानीय तहहरु पनि अनुगमन गरी यस्ता रक्सी बेच्नेमाथि कारबाही गर्दैनन् ।
घरधनीहरुलाई भाडा भए पुग्यो, व्यापारीलाई कमाउन पाए । उपत्यकामा घरेलु मदिरा बेच्ने रक्सी पसल छ्यापछ्याप्ती छन् । रक्सी बेच्न धमाधम आफ्नो घर भाडामा दिइरहेका छन्, घरधनीहरु । भाडाको निम्ति रक्सी बेच्न घर भाडामा दिन्छन् अनि कसैले रक्सी खाएर केही घटना घटेमा जिम्मेवारी चाँहि लिँदैनन् । रक्सी खाएपछि अधिकांश व्यक्तिले आफ्नो होश गुमाउँछन् ।
त्यस्तो अवस्थामा उनीहरुले जे पनि गर्न सक्छन् । कुटपिटदेखि काटमारसम्म । रक्सी खाएरै आफ्नो र अरुको ज्यान लिएको थुप्रै घटना छन् । अनि यस्ता घटनाको जिम्मेवारी कसले लिने ? रक्सी पसलेले कि सरकारले ? कानूनमा घरेलु रक्सी बेच्न पाइँदैन । विडम्बना, स्थानीय तह र प्रहरी प्रशासन निदाउँदा खुलेआम घरेलु मदिरा बेचबिखन भइरहेको छ ।
सरकार रक्सी बेच्न प्रतिबन्ध लगाउँदैन अनि रक्सी खाएर आत्महत्या, हत्या गरिएपछि लाश उठाउन चाँहि पुग्छ । अहिले धेरै मानिसहरुको दुईटै मिर्गौला फेल, कलेजो, फोक्सो काम नलाग्ने भएको सुनिन्छ । यसको एउटै कारण हो, रक्सी । विशेषगरी घरेलु मदिराले मानिसको महत्त्वपूर्ण अंग सजिलै बिग्रार्ने गर्छ ।
दश वर्षे जनयुद्धमा माओवादीले रक्सी खाने र बनाउने दुवैलाई कारबाही गथ्र्यो । जसले रक्सी खाने र बनाउने धेरै मात्रामा कम भएका थिए । अहिले त माओवादीकै कार्यकर्ता रक्सी खान्छन् । केही महिनाअघि माओवादी अध्यक्ष एवं पूर्वप्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रक्सी खाएर ट्वाइलेटमा लडे ।
सर्वसाधारण भन्छन्, ‘केपी ओली पनि रक्सी खाएरै दुईटा मिर्गौैला फेल भएको । शेरबहादुर देउवा त झन् बिहानैदेखि रक्सी खान्छन् ।’ यता, सरकारी कर्मचारीको त कुरै नगरौं । सरकारी कार्यालय जाँदा राति खाएको रक्सीले छोडेको हुँदैन, कर्मचारीलाई । अधिकांश कर्मचारीको मुखबाट रक्सी गन्हाइरहेको हुन्छ । भट्टी पसलहरुमा पनि उत्तिकै कर्मचारी भेटिन्छन् ।
पछिल्लो समय त बर्थ डेदेखि विवाहसम्ममा रक्सी दिइन्छ । छोराछोरीको सरकारी जागिरमा नाम निस्किएमा, एसईई पास गरेमा, अमेरिका, अस्ट्रेलियामा भिसा लागेमा पनि रक्सी पार्टी दिइन्छ । जनप्रतिनिधिले चुनाव जित्दा पनि रक्सी पार्टी नै दिन्छन् । कर्मचारी सरुवा, बढुवा हुँदा रक्सी खाएरै खुशीयाली बनाउँछन् । मानिसले खुशीसँगै दुःखमा पनि रक्सी नै खान्छन् ।
जागिर नपाए, परीक्षामा फेल भएमा, घरजग्गा, गाडी, सेयरमा गरेका लगानी डुबेमा, बैंक, वित्तिय संस्थाको ऋण तिर्न नसके वा बचत फिर्ता नपाएमा पनि रक्सी नै खान पुग्छन् । बिहान उज्यालो नहुँदै भट्टी पुग्छन्, मध्यरातमा घर फर्किन्छन् । कतिपय चाँहि सडकमै सुत्छन् । रक्सी बनाउने र बेच्नेहरु अर्बपति भएका छन् ।
उनीहरुका छोराछोरी अमेरिका, अस्ट्रेलिया पुगेका छन् । तर, रक्सी खानेहरुको घरखेत, परिवारसँगै ज्यानै सिद्धिएको छ । उसको जीवन नै सखाप भएको छ । न पैसा छ न स्वास्थ्य । केही वर्षयता मुलुक मन्दीमा छ । मन्दीका कारण हरेक क्षेत्र सुस्ताएको छ । विभिन्न क्षेत्रमा मानिसहरुले गरेको लगानी डुबेको छ । फेरि उनीहरुले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरेका हुन् । अनि तनाव बढेपछि उनीहरुले रक्सीको सहारा लिइरहेका छन् ।
जनतादेखि जनप्रतिनिधिसम्म रक्सी खान व्यस्त छन् । संसद्मा कतिपय सांसदहरु निदाइरहेको देखिन्छ । राति रक्सी खाएर सुत्न पाउँदैनन् अनि संसद् आएर निदाउँछन् । प्रहरीहरुले पनि रक्सी खाएको भेटिन्छ । जाँड खाएरै प्रहरीबीच नै झगडा भएको घटनासमेत छन् । अनि कानून बनाउनेदेखि कार्यान्वयन गर्नेहरु नै रक्सी खान व्यस्त भएपछि जनता पनि त्यसमा होमिनु स्वाभाविक हो ।
अभिभावक रक्सी खान्छन्, उसका छोराछोरी भोकै बस्नुपर्छ । भट्टी पसलेहरुले भर्खरका युवायुवतीदेखि बुढासम्मलाई रक्सी खुवाइरहेका छन् । जसले ती युवायुवतीको भविष्य तहसनहस भइरहेको छ । कलिलो उमेरमै उनीहरु गम्भीर रोगको सिकार भइरहेका छन् । मिर्गौला, कलेजो, फोक्सो हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो ।
यो बिग्रिएमा फेर्न वा उपचारका निम्ति लाखौंदेखि करोडौं रकम चाहिन्छ । अनि पहिले रक्सी खाएर घरखेत सिध्याएकाहरुले कसरी उपचार गर्ने ? त्यसकारण अब सरकारले रक्सी बेच्नमा रोक लगाउनुपर्छ । सरकार जनताको रक्षक हो । जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । रक्सीले जनताको सम्पत्तिसँगै ज्यानै लिइरहेको छ ।
त्यसैले, अब सरकारले कडा कदम चाल्नैपर्छ । रक्सी खाएर ओलीले मिर्गौला सिध्याएपनि जनताले तिरेको करबाट फेरे । त्यो मिर्गौला बचाउन विदेशबाट दिनको ७० हजारको पानी ल्याएर पिउँछन् । सरकारमा बसेकाहरु पनि रक्सी खाएर मिर्गौला सिध्याउने, जनता पनि रक्सी खाएरै ज्यान गुमाउने । रक्सीले एक जना मात्र होइन, धेरै पुस्ता सिध्याउँछ । र, सिध्याइरहेको छ । किनकि बाउले रक्सी खाएपछि छोराले सिक्छ ।
रक्सीमा प्रतिबन्ध लगाउन सांसदहरु सदनमा आवाज उठाउँदैनन् । सरकार पनि यो विषयबारे सोच्दैन । किनकि सांसददेखि सरकारमा बसेकासम्म जडिया छन् । अनि जनप्रतिनिधिदेखि जनतासम्म रक्सी खान व्यसत भएपछि देश कसरी बन्छ ?