यस्तो छ राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधरणलाई टीका लगाइदिने तालिका

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहणका लागि असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिअनुसार सम्माननीयहरू, माननीय उपप्रधानमन्त्रीहरू, प्रदेश प्रमुखहरू, मन्त्रीहरू, न्यायाधीशहरू, सङ्घीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्मको समय व्यवस्था गरिएको छ ।

त्यस्तै अन्य इच्छुक सर्वसाधारणका लागि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म टीका प्रसाद ग्रहणको कार्यक्रम राखिएको र त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत विज्ञप्तिमा सबैमा जानकारीका लागि उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पनि साइतको बेलामा परिवारमा टीका लगाउने र त्यसपछि सरकारी निवास बालुवाटार आउनेलाई टीका लगाइदिने कार्यक्रम रहेकाे प्रधानमन्त्री निकट स्राेतले जनाएकाे छ ।

त्यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विजयादशमीको दिन अपरान्ह ४ बजेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । त्यसअघि पूर्वराजाले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम छ । पूर्वराजाले महाअष्टमीको दिन नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *