दशैँमा यस्ताे छ डाक्टरकाे सुझाव – ‘धेरै मदिरा र मासुले हित गर्दैन’

काठमाडाैँ । हिन्दु नेपालीहरुकाे महान पर्व दशैँ अरु पर्व भन्दा अलि विशेष र हर्षाेल्लासका रुपमा मनाउने प्रचलन छ  । दशैँमा ठूला बडा मान्यजनकाे हातबाट टीका लगाउने आशिर्वाद लिने मात्र हाेइन मासु खाने पर्वकै रुपमा हेरिन्छ । पछिल्लाे समयमा अस्वस्थकर खानपान पनि बढेकाेले डाक्टरहरुले खानपानसँगै स्वास्ठ्यकाे पनि ख्याल गर्न सुझाएका छन् ।  दशैँमा अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैँ मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् । वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्राडा उमा कोइरालाले दशैँमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताउनुभयो । पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिनुभयो ।

चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नुपरेको छ, पोषणविद् कोइरालाले भन्नुभयो, “मानिसले दशैँको खानामा होस नपु¥याउँदा जटिल रोगको सिकार त हुन्छन् नै, अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत वहिष्कृत हुनु परेका धेरै उदाहरण छन् ।”

पेटरोग विशेषज्ञ डा. भूपेन्द्रकुमार बस्नेतले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताउनुभयो । उहाँल दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने जानकारी दिनुभयो ।
उहाँले अत्यधिक मदिरा सेवनका कारण मानिसको मृत्यु भएका धेरै घटना छन् भन्दै शरीरको हेरचाह गरी आफैँ सचेतना अपनाउन सुझाव दिनुभयो । डा. बस्नेतले ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पु¥याउनुपर्ने भन्दै असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताउनुभयो ।

डा. बस्नेतले दशैँमा मदिरा सेवनसँगै जुवातास खेल्ने र लाखौँ रुपियाँ हार्ने हुनाले आर्थिक क्षतिसमेत हुने हँुदा सन्तुलित आहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मदिरा सेवन गरिहाले पनि ९० मिलिलिटरभन्दा बढी नगर्न आग्रह गर्नुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगीले समेत बल्लबल्ल आउने दशैँ भनेर अल्कोहल सेवन गर्ने गरेको जानकारी दिनुभयो । उहाँले दशैँमा मानिसले आवश्यकभन्दा बढी मासुको मात्राले जटिल किसिमका रोग लाग्ने बताउनुभयो । खसी, बोका, राँगा र बङ्गुरको मासु रातो हुनाले मानिसलाई त्यत्तिकै असर गर्ने भन्दै उहाँले सकभर मासुमा बजारमा पाइने मसला हालेर नखान पनि आग्रह गर्नुभयो ।

दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ, डा. रेग्मीले भन्नुभयो, “स्टोर नगरेको कयौँ दिनको मासु खाँदा विभिन्न प्रकारका रोग निम्तिने खतरा रहन्छ ।” उहाँले मदिरा सेवनका कारण पित्तथैलीमा असर पार्ने, पित्तथैलीमा पत्थरी छ भने असैह्य पेट दुख्ने भएकाले चाडबाडमा आफ्नो शरीरको सुरक्षा आफैँ गर्न आग्रह गर्नुभयो ।

अघिपछि खानेभन्दा चाडबाडमा अत्यधिक मासु र रक्सी खाने गरेको बताउँदै डा. रेग्मीले खानाकै कारण पाचन ग्रन्थीको नली बन्द भएर आकस्मिक अवस्था आउनसक्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । गाउँघरतिर मासु तथा रक्सी नपचेर झाडापखाला हुने, फुड पोइजन हुने, चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर गर्ने डा. रेग्मीको भनाइ छ ।

रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । उहाँले थप्नुभयो, “रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ ।”

डा. रेग्मीका अनुसार रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।’’ रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । उहाँले थप प्रस्ट्याउनुभयो, “कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ ।”

चाडपर्वका अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ । डा. रेग्मीले गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मनसक्नेतर्फ पनि सचेत गराउनुभयो ।

पोषणविद् प्राडा उमा कोइरालाले मासु र मदिराभन्दा काँक्रो, मुला, गाँजरजस्ता खाना खान सुझाव दिनुभयो । उहाँले त्यससँगै हरियो सागपात र फलफूल खान सुझाव दिनुभयो । खानासँगै दैनिक एक घन्टा पैदल हिँड्ने र शारीरिक व्यायाम गर्नुपर्ने भन्दै उहाँले मासुजन्य खानेकुराभन्दा सागपात र फलफूल धेरै खानुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *