कति छ ? काठमाडौँ उपत्यकामा खसी बोकाको मासुको मूल्य

काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड दशैँ । टीका जमरा लगाउने मात्र होइन मासु खाने विशेष पर्वका रुपमा समेत लिइन्छ । दशैँ पर्व केवल हिन्दू संस्कार वा टीका जमरामा मात्र अब सीमित छैन । सकेसम्म घरमै खसी बोका काट्ने नभए थोरै मात्र भए पनि मासु खाने यो पर्वको खास विशेषता हो । त्यसैले पनि दशैँको बेला अन्य समयमा भन्दा मासुको माग उच्च हुने गर्छ । माग मात्रै होइन यो समयमा मासुको मूल्य समेत उच्च हुने गरेको छ । नियामक निकायले बजार अनुगमन गरिरहेको बताए पनि बिभिन्न बाहानामा ब्यापारीहरुले मासुसँगै दैनिक उपभोग्य बस्तुको मूल्य मनलाग्दी रुपमा बढाउँने गरेका छन् ।

आइतबार घटस्थापना दशैँ बधिवत सुरुवात भएको छ । दशैँको चहलपहअल सुरु भएसँगै काठमाडौँ उपत्यकामा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ ।

सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागु गरेपछि ब्यापारीहरुले मासुको मूल्य झनै बढाउने देखिएको छ । केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९५० रुपैयाँका दरले बिक्री भइरहेको थियो । तर अहिले काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश मासु पसलमा झन्डै १,२५० देखि १,३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।

सरकारले खसीको आयातमा गरेको कडाइका कारण खसीको मासुको मूल्य १५०० देखि १६०० रुपैयाँ प्रतिकिलोसम्म पुग्न सक्ने अवस्था रहेको चौपाया खरिद बिक्री सेवा सङ्घका भूतपूर्व अध्यक्ष दीपक थापा बताउनुहुन्छ ।

बजारमा अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० सम्म पुगेको छ । आपूर्तिमा कडाइ गरिनुअघि त्यो प्रतिकिलो करिब ५४० रुपैयाँ रहेको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार दशैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजारवटा खसीको खपत हुन्छ ।

मूल्य वृद्धि हुनुभन्दा अघिको समयसँग तुलना गर्ने हो भने खसीको मासुको मूल्य प्रतिकिलो ३०० रुपैयाँका दरले महँगो भइसकेको छ । त्यसको अर्थ खसीका लागि काठमाडौँ उपत्यकावासीहरूले करिब ३० करोड भन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ ।

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माका अनुसार नेपालमा वार्षिक एक करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन् । तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छ । कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाण्डूबाहेक अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ। बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ ।

घटस्थापनाका दिनदेखि पूर्णिमासम्म दैनिक तीन लाख किलो कुखुराको मासु र दशैँमा १० हजारवटाजति च्याङ्ग्रा खपत हुन्छ । त्यसबाहेक हाँस, राँगा, भैँसी र माछाको खपतमा पनि ठूलो वृद्धि हुने सरकारी अधिकारीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *