नेकपाकाे प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भई नेकपा घोषणा हुँदा तीन महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान र नियमावलीलाई सम्पादनसहित प्रकाशनको निर्णय गरेअनुसार विधान र नियमावली तल्ला कमिटीमा जान थालेका छन् ।

पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनमा यसअघिको जिम्मेवारीमा रहेका इञ्चार्ज, सहइञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्षहरु रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको थियो । विधान र नियमावालीको अभावमा ती कार्यदलले निर्णय गर्न सकेका थिएनन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मातहतको एकता प्रक्रिया तुरुन्त थाल्न विधान र नियमावली पठाइएको र पार्टीले चाँडै त्यससम्बन्धी समयबद्ध कार्यतालिका तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहमति र संगठनात्मक स्थितिका आधारमा कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न ती कार्यदललाई जिम्मेवारी दिएका छौँ । अब चाँडै कुन कमिटीको कहिलेसम्म एकता गरिसक्ने भन्ने मिती तय हुनेछ ।”

प्रदेश कमिटी सचिवालय र जिल्ला कमिटी प्रदेश कमिटीले चयन गर्नेछ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएपछि पार्टीको विधान र आन्तरिक विषयमा छलफल हुन ढिलाइ भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *