काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
बेलबहादुरको दाहिने छातीमा मुटु, हेडसरको मुटुमा प्वाल
गाउँलेहरु डाक्टरको बाटो कुरेर बसेका थिए । दुर्गमको बाटो डाक्टरहरुको टोली भने झमक्क साँझ पर्दा मात्र पुग्यो । रातिको करिब साढे ८ बजेको थियो । भर्याङमुनी जोडियो इको मेसिन, त्यो पनि किचन र्याकमाथि राखेर । अनि शुरु भयो चेकजाँच
नवलपुर । मुटुको परीक्षण गर्न मेसिन लिएर गाउँमा डाक्टरहरु आउदैछन् भन्ने खबरले बुलिङटार भदौरेका स्थानीय औधी खुसी थिए । रोगले नच्यापेसम्म अस्पताल नजाने उनीहरु गाउँमै मुटु चेकजाँच गराउने आशामा दिउँसैदेखि डाक्टरको बाटो कुरेर बसेका थिए । दुर्गमको बाटो डाक्टरहरुको टोली भने साँझ अबेर मात्रै गाउँ पुग्यो । गाउँलेको उत्साह, सहभागिता र समस्या देखेपछि राती नै डाक्टरहरुले चेकजाँच शुरु गरे ।
गाउँमै स्वास्थ्य चौकी भएपनि गाउँलेहरु भने सजिलो हुन्छ भनेर एकै घरमा जम्मा भएर बसेका थिए । त्यसैले पनि अस्पताल जन्य खास उपकरण थिएनन् । रातिको करिब साढे ८ बजेको थियो । भर्याङमुनी जोडियो इको मेसिन, त्यो पनि किचन र्याकमाथि राखेर । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अमिर खान र अन्य सहयोगी डाक्टरहरुको समूहले राती नै मुटु परीक्षण शुरु गरे । गाउँमा पहिलो पटक इको गरिएको थियो । उसो त मेसिनले जाँच्ने भनेर स्थानीय खुबै खुशी भएका थिए राति अबेरसम्म पनि लामबद्ध भएर पालो कुरेर बसे । पालैपालो मुटुको जाँच गराए ।
बेलबहादुरको दाहिने छातीमा मुटु
५८ वर्षको उमेरमा पहिलो पटक ईको मेसिनद्धारा मुटुजाँच गरेका वेलबहादुर पुलामीको मुटु दाहिने छातीमा भेटियो । “सबैको देब्र्रेमा हुन्छ मेरो त दाहिनेमा पो रहेछ । रोगले नचाप्दासम्म अस्पताल गईदैन । आश्चर्य मान्दै पुलामीले भन्नुभयो, “हातखुट्टा सुनिन्छ, दम हुन्छ त्यसैले मुटुको अवस्था कस्तो छ भनेर बुझन आएको मुटु दाहिनेमा पो भेटियो” । डाक्टरले दाहिनेमा मुटुहुनु भनेको डेस्टोकाडिया हो । आत्तिनु पर्दैन, देब्रेमा मुटु छ भनेर ख्याल गर्नुहुन्थ्यो पहिले भने अब दाहिने छातिपट्टीको भागलाई ख्याल गर्नुस् । यस्तो समस्या थोरै मानिसहरुमा मात्रै देखा पर्दछ भन्नुभएको भन्दै बेलबहादुरले भन्नुभयो, “अब समय समयमा मुटुको चेकजाच गर्छु ।”
हेडसरको मुटुमा प्वाल
जीवनमा पहिलो पटक मुटुको परीक्षण गराएका उदय मावि वुलिङटार ५ भदौरीका प्रधानाध्यापक रामनारायण गुप्ताको भने मुटुमा प्वाल परेको रहेछ । “हातखुट्टा सुनिने समस्याहरु देखापरे पनि निको भईहाल्ने थियो मुटुको समस्याले हो भन्ने ध्यान भएन त्यसैले अहिलेसम्म चेक नगरेको” प्रधानाध्यापक गुप्ताले भन्नुभयो । अहिले ५४ वर्षको उमेरमा आएर मुटुमा प्वाल परेको थाहा पाउनु भएका प्रधानाध्यापक गुप्ताले भन्नुभयो “गाउँमा डाक्टर आएर चेक नगरेको भए त अझै जटिल समस्या नहुदासम्म चेक गर्ने थिईन होला अब चिकित्सकहरुको सल्लाह अनुसार चेकजाच गर्छु, अस्पताल जान्छु ।”
विकासका पूर्वाधारबाट वञ्चित स्थानीयहरुले गाउँमा नै मुटुको परीक्षण गर्न पाउँदा खुसी लागेको स्थानीय मिनमाया मल्ले बताउनुभयो । मल्लले भन्नुभयो,“रोग जटिल नहुँदासम्म अस्पताल गईदैन, अस्पताल जानपनि टाढा छ जिल्ला बाहिर नै जान पर्छ तर आज गाउँमा नै पहिलो पटक मुटु जाच्न पाए खुसी छु ।”
विशेष गरी वालवालिकाहरुमा पछिल्लो समय मुटुमा समस्याहरु देखिन थालेको हुँदा नेपाल बाल संगठन नवलपुरले पहाडी क्षेत्रका बालवालिकाहरुको मुटुको अवस्था के कस्तो छ भन्ने पत्ता लगाउन र परामर्श दिनको लागि निशुल्क मुटुरोग परीक्षण गरेको संगठनका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपालका संयोजक रामचन्द्र खत्रीको संयोजनमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा.आमिर खान, र अन्य सहयोगी डाक्टरहरु प्रितम पाण्डे, सुलव सुवेदी र सुरेन्द्र सिग्देलको समुहले मुटुको इको काडियोग्राफी परीक्षणसँगै परामर्श समेत दिएका थिए ।
परीक्षणको क्रममा २ जना वालवालिकाहरुमा मुटुमा प्वाल, एक जनामा डेस्टोकाडिया (दाहिनेमा मुटु) र ३० जनामा मुटुको भल्व सामान्यदेखि जटिल अवस्था सम्ममा साँघुरिएको र खकुल्लो भएको भेटिएकोे डा.प्रितम पाण्डेले जानकारी दिनुभयो । शिबिरमा विद्यार्थी, अभिभावक र स्थानीय गरी करिब १२ सय जनाको मुटुको परीक्षण गरिएको थियो ।
पूर्व पश्चिम राजमार्गदेखि करिब २८ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा पर्ने भदौरीमा ५ मा सय घरधुरी छ भने करिब १७ सय जनसख्या रहेको छ । वडामा स्वास्थ्य चौकी छ सामान्य उपचार स्वास्थ्य चौकीमै हुन्छ तर रोग जटिल नहुदासम्म मानिसहरु अस्पताल जानै नमान्ने गरेको वडा अध्यक्ष पूर्णसिंह खण्डलुक मगरले बताउनुभयो ।
र अन्त्यमा छमछमी नाचगान
राति अबेर सबैको चेकजाँच सकिएपछि पनि जमघट र त्यो भिडभाड कम भएन । शिबिर सकिपछि शुरु भयो कौरा नाँच । मगर गाउँ मगर संस्कृति परम्परा छोडेनन् गाउँलेले । गाउँमा टाढाबाट आएका पाहुना पूरानो परम्परा जो छ । डाक्टरहरु पनि दिनभरको थकान भुलेर छमछमी नाचे ।