नेकपाको पोलिटब्युरो टुंगियो, पूर्व एमाले र माओवादी केन्द्रकाे भागमा काे कति परे ?

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुङ्गो लगाउने तयारी गरेको छ । जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय सङ्गठन, विभाग, प्रवास लगायत सबैलाई टुङ्गो लगाउने तयारी भइरहेको नेकपाको सचिवालयले जनाएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जानुअघि बुधबार सचिवालयको बैठक बोलाएर एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्नुभएको थियो ।

आउँदो जेठ ३ गते नेकपा गठन भएको एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा सम्पूर्ण एकताको घोषणा गर्ने  तयारी गरिएकाे बताइएकाे छ । अहिलेसम्म केन्द्रीय समिति, सचिवालय, स्थायी समिति, प्रदेश र जिल्लाको मात्र टुङ्गो लागेको छ । केन्द्रीय समितिमा कार्यविभाजन हुन बाँकी छ भने प्रदेश र जिल्लामा कार्यसमितिको टुङ्गो लाग्न बाँकी छ ।

जिल्लामा अध्यक्ष र सचिव तथा प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, सचिवको मात्र टुङ्गो लागेको छ ।  स्राेतका अनुसार १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने एक नेताले फेयर नेपाललाई बताए । बाँकी रहेका यी सबै तहकाे एकैपटक टुङ्ग्याउने तयारी सचिवालयले गरेको छ । स्थानीय तह र जिल्लाका अधिकांश एकता प्रक्रिया टुङ्ग्याइसकेको छ । कतिपय ठाउँमा शपथग्रहण समेत भइसकेको छ । कतिपय ठाउँमा प्रस्ताव तयार गरेर राखिएको छ भने कतिपय ठाउँमा स्थानीय तहको विवादका कारण जिल्लाको टुङ्गोे लागेको छैन ।

स्थायी कमिटी सहितको केन्द्रीय कमिटीको बढीमा एक तिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपाको अन्तरिम विधानमा व्यवस्था छ । कुल ४५१ सदस्य भएको केन्द्रीय कमिटीको एक तिहाइ १४७ जना रहेको पोलिटब्युरो गठन हुने बताइएको छ । नेकपा स्रोतकाअनुसार पोलिटब्युरो कमिटीमा तत्कालीन एमालेका तर्फबाट ८१ र तत्कालीन माओवादी केन्द्रका तर्फबाट ६६ जना सदस्य रहनेछन् ।

केन्द्रीय कमिटीमा रहनु भएकामध्ये वरिष्ठतालाई पोलिटब्युरो बनाउने मापदण्ड बनाइएको छ ।  तत्कालीन एमालेबाट ६२ जना पोलिटब्युरो सदस्यलाई राख्ने तयारी भइरहेको छ भने २० जना नयाँ राख्ने तयारी गरिएको छ । तत्कालिन माओवादी केन्द्रका ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठताका आधारमा ६६ जना चयन गरिने बताइएको छ । जनयुद्धमा भूमिका खेलेका नेतालाई विशेष प्राथमिकता दिने बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *