राष्ट्रपति, सरकार र सभामुखविरुद्ध आक्रामक शैलीमा खनिए देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्धको गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर देशैभर एकै साथ जनजागरण अभियान सुरु गरेको छ ।‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस’ नारा दिएको पहिलो चरणको अभियानको कांग्रेस सभापति शेरबहादुर देउवाले राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रमबीच बुधबार उद्घाटन गरे ।

नयाँ शैलीबाट कार्यक्रम सुरु गर्ने पूर्वघोषणाअनुसार सभापति देउवाले दीर्घजीवी बिरुवा ‘समी’ को बोटमा पानी सिंचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन क्रममा राष्ट्रपति, सरकार, प्रधानमन्त्री र सभामुखका गतिविधिलाई लिएर देशैभर भएका कार्यक्रममा नेता आक्रामक रूपमा खनिएकाे समाचार आजकाे राधानी दैनिकमा छ ।

गणतन्त्र आएपछि नेपाल सरकार भन्ने प्रचलन सुरु भएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै देउवाले भने, ‘योभन्दा अघिल्लो वर्ष यही राष्ट्रपतिले मेरो सरकार भनेकी थिइनन्, राष्ट्रपति हुँदा रामवरण यादवले पनि मेरो सरकार भनेका थिएनन्, अहिले यिनलाई बेलायती महारानीजस्तो किन हुनु परेको ?’
उनले अघि भने, ‘बेलायतमा हर मेजेस्टिज गभर्मेन्ट भन्छन्, यहाँ पनि मेरो सरकार भनियो, हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

देउवाले सरकारले एकपछि अर्को गल्ती दोहो¥याएर निरंकुश बन्दै गइरहेको र जनभावनाविपरीतका क्रियाकलापमा सरकार अघि बढिरहेको भन्दै आक्रामक अभिव्यक्ति दिए । ‘हिजो मैले निर्वाचनका बेला नै भनेको थिएँ, कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइँदैन, आज त्यही भइरहेको छ, सरकार तानाशाह प्रवृत्तिबाट अघि बढिरहेको छ, यस्तै हो भने कांग्रेस चुप बस्दैन, कांग्रेसले सडकबाटै सरकार ढाल्छ, हामी कमजोर छैनौं, समय आएपछि देखाइदिन्छौं,’ सभापति देउवाले भने ।
उनले नेपालको संसदीय अभ्यासको इतिहासमा नै वर्तमान सरकार र सभामुख नालायक देखिएको समेत बताए ।
‘अघिल्ला सरकारले गरेका काम पनि मैले गरें भन्न सरकारलाई लाज पनि रहेन, सभामुखसमेत संसदीय इतिहासमा नै कमजोर, डरपोख र काँतर देखिए,’ देउवाले सम्बोधन क्रममा भने ।

उनले सभामुखले संसद्मा देखाएको भूमिका सरकारको मात्रै सभामुखजस्तो रहेको जनाए । ‘सरकार सत्ता पक्षको हो, संसद् विपक्षको हो, यो विश्वको परम्परा पनि हो तर सभामुख नै निरीह भएपछि सत्ताकै छायामा सभामुख छिरे,’ देउवाले आक्रामक शैलीमा भने ।
उनले सम्बोधनका क्रममा आफ्ना नेता पंक्तिलाई समेत कडा जवाफ दिए । देउवाले जिल्ला सभापतिले विधानमा राखेको असहमतिका विषयलाई लिएर कडा रूपमा जवाफ दिएका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *