नेकपा एकीकरणमा उपेक्षित महिला, यी हुन् १५४ मध्ये परेका ४ नेत्री

काठमाडौं । लामाे समयकाे रस्साकस्सी र अन्योलको अन्त्य गर्दै  एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्ताधारी नेकपाको एकता प्रक्रियामा साेमबार जिल्ला नेतृत्व चयन भएकाे छ । यसलार्इ दुवैजना अध्यक्ष प्रधानमन्त्री केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियामा महत्त्वपूर्ण फड्को मारिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसको सन्दर्भ पारेर काठमाण्डाैँको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेतृत्व चयन गरिएकाे अाैपचारिक जानकारी दिइएकाे हाे । तर याे प्रक्रियामा महिला भने उपेक्षामा परेका छन् । महिलाकाे ३३ प्रतिशत सहभागिताकाे विषयलार्इ लिएर चर्का कुरा उठे पनि सत्ताकाे बागडाेर सम्हालेकाे नेकपाकाे जिल्ला नेतृत्वमा जम्मा साढे दुई प्रतिशत महिलाले मात्र अवसर पाएका छन्। जिल्ला एकता प्रक्रियापछि घोषित अध्यक्षमा ३ र सचिवमा १ जना मात्र महिला परेका छन्।

सबै ७७ जिल्लाका १ सय ५४ जना नेता चुनिँदा महिला चार जनाले मात्रै उपल्लाे जिम्मेवार तहमा अवसर पाएका हुन्। लमजुङबाट मधु अधिकारी मकवानपुरबाट मुनु सिग्देल र काभ्रेपलाञ्चोकबाट रुकु चौलागाईं अध्यक्ष चुनिएका छन्। भने इलामबाट सोममाया राई  सचिव भएकी छिन्।

यतिमात्र हाेइन सोमबार अायाेजित कार्यक्रमकाे मञ्चमा एकजना पनि महिला देखिएनन् । सचिवालय सदस्यका लागि छुट्याइएको कुर्सीमा बस्न लायक महिला सायद नेकपाले बहुमत प्राप्त पार्टीभित्र फेला पार्न सकेको छैन । ९ कुर्सीमा ९ जना नै पुरुष थिए । हुन त सचिवालय सदस्यका लागि मात्र मञ्चमा कुर्सी राखिएकाे थियाे । नेकपाकाे सचिवालयमा महिलाकाे प्रतिनिधित्व छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *