पोखरामा बम विस्फोट एक सैनिक घाइते (अपडेट)

पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् । प्रदेशसभा भवनअगाडि भेटिएको  बम  डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको प्रहरीले बताएको छ ।

पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।

थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर, प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव समुहले आज नेपाल बन्द गरेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा बम भेटिएको छ । सरकारले लगाएको प्रतिबन्धको विरोध, पक्राउ परेका पार्टीका नेता कार्यकर्ताको रिहाइ, झूट्टा मुद्दा खारेजीलगायत मागसहित नेकपाले बन्दको आब्हान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *