अन्तरिक्षमा नेपालकाे पहिलाे पाइला NepaliSat-1 अमेरिकाको भर्जिनिया तटबाट प्रक्षेपण

काठमाडाैँ । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको  छ। नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टले जनाएकाे छ।

अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्रबाट उक्त प्रक्षपण गरिएकाे हाे । NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ। नासाका अनुसार त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको बीबीसीले समाचारमा जनाएकाे छ । बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तौलको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *