कांग्रेसले किन गर्दैछ चरणबद्ध राष्ट्रिय जागरण अभियान ?

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान (हिपतम) सुरु गर्ने भएको छ । सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।

यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले संविधानअनुसार काँग्रेसले स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराएकाले अब कांग्रेसलाई रुपान्तरण गर्न यो अभियान सुरु भएको बताउनुभयो ।

संविधानको भावना र मर्मअनुसार पार्टीको विधानमा तलदेखि माथिल्लो निकायसम्म समावेशी बनाइएको र ंपदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने विधान बनाउने काँग्रेस पहिलो पार्टी भएको दाबी उहाँले गर्नुभयो । कांग्रेसले वडादेखि केन्द्रसम्मका पार्टीका सबै संरचनामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरेको छ ।

उपसभापति निधिले छिट्टै नै नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन हुने र नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिइने जानकारी दिनुभयो । पार्टीको प्रदेश संरचना छिट्टै बनाइने तर पार्टीको केन्द्रीय कार्यसमिति भने नयाँ विधान अनुसार १४ औँ महाधिवेशन पछि मात्रै पूरा हुनेछ भन्नुभयो । उहाँले सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने खालको काम गर्न नसकेको र काँग्रेसले मात्रै देशमा शान्ति र समृद्धि ल्याउने दावी गर्नुभयो ।

पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसको झण्डाका चार तारामध्ये एउटा ताराले धार्मिक स्वतन्त्रतालाई प्रतिनिधित्व गर्ने भएकाले हिन्दु राष्ट्र बनाउने कुरै आउँदैन, धर्म स्वतन्त्र हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘आर्थिक प्रलोभन र दबाबमा धर्म परिवर्तन गर्ने कार्यलाई रोक लगाउनुपर्छ, । ’’

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले आठ पृष्ठ लामो प्रेस विज्ञप्ति वाचन गर्नुहुँदै अभियानको उद्देश्य, कार्यक्रम, शैली र समयावधिबारे चर्चा गर्नुभयो । अभियान सञ्चालन गर्नुपर्ने १५ वटा कारण उल्लेख गर्दै काँंग्रेसले राष्ट्रव्यापी रुपमा पार्टी पङ्क्तिमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पङ्क्तिमा जागरण अभिवृद्धि गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *