नेपालको पहिलो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपण गरिँदै

काठमाडाैँ ।  नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा आज (बुधबार) राति अन्तरिक्षमा प्रक्षेपण गरिँदै छ । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालीले नै तयार गरेकाे स्याटलाइट ‘नेपाली स्याट वान’ अन्तरिक्षमा पठाउन लागिएकाे हाे ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा अध्ययनरत दुर्इ जना नेपाली विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गर्न लागिएकाे हाे ।

अमेरिकाको भर्जिनियामा रहेकाे वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गरिँदैछ  । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेले याे प्रक्षपण गर्न लागेकाे हाे । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएकाे छ ।

नाष्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालका अनुसार स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो । यसकाे सम्पूर्ण खर्च एक करोड ८२ लाख रुपैयाँ सरकारले बेहाेर्ने छ ।

वैज्ञानिकहरूका अनुसार नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ । जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुने अनुमान गरिएकाे याे स्याटलाइले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्ने बताइएकाे छ ।

याे प्रक्षपण सफल भएकाे खण्डमा  भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्ने वैज्ञानिकहरूकाे भनार्इ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *