अब थैलीका दिन गए, अर्काे बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो ।

यसअघि सरकारले श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने सामाजिक सुरक्षाका लागि आजको अभियान नयाँ फड्को हुने ठानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिको हो । सो बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।

‘थैलीका दिन गए’

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो नयाँ युगको शुरुवात भएको छ । अब नेपालमा बैंक खाता नहुने र खातामा रकम नहुने नागरिक हुने छैन । यसले सामाजिक सुरक्षामा एक प्रकारका क्रान्ति ल्याएको छ ।

नेपाल हरेक दिन एक कदम अगाडि जानेछ । हामी गाँस, बास, कपाल, ज्ञान र मानसम्मान र सुरक्षाको सुनिश्चितता दिनेछौँ । अब थैलीका दिन गए, चेकका दिन आए । थैलीमा राख्नुपर्ने कार्ड र चेकबुक राख्दा हुन्छ ।”

आमा बुबालाई खाना खुवाउँदा कति नाफा हुन्छ भनेर हिसाबले गर्न नहुने भन्दै उहाँले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको जनाउनुभयो ।

अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको जनाउँदै उहाँले भन्नुभयो,“यो सरकार यतिमा वा उतिमा ढालिन्छ भन्नेहरुले बुढाबुढीका नजिकमा गएर त्यसो नभन्न र भनिएमा लौरो खानुपर्ला ।” सरकारको वृद्धभत्ताले मानिसलाई श्वाश जगाएकाले यसले मनोवैज्ञानिकरुपमा बा, आमाको आयु बढाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने घोषणा गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म वृद्धभत्ता दिने सङ्कल्प गरेको थियो । उहाँले नेपालीको मूर्छित सपनालाई ब्युँझाइने उल्लेख गर्दै केही गर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *