‘प्रदेश सरकारले सङ्घीय र स्थानीय सरकारसँग समन्वय गर्ने’

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अब प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने कार्यलाई विशेष प्राथमिकतासाथ अधि बढाइने बताउनुभएको छ ।

प्रदेश नं २ को पहिलो एक वर्षको प्रगति सार्वजनिकीकरण समारोहमा मुख्यमन्त्री राउतले यस्तो प्राथमिकताले विकास निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई जनमुखी र जनमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो । विभिन्न आरोह–अवरोहबीच प्रदेश सरकारले संविधान र सङ्घीयता कार्यान्वयनमा अथक प्रयास गरिरहेका चर्चा गर्दैै उहाँले विस्तारै आधारभूत कानून र सङ्घीय संरचनामा आवश्यक पर्ने संयन्त्रले आकार ग्रहण गर्दैछ भन्नुभयो ।

मुख्यमन्त्री राउतले शासन पद्धतिलाई जनमुखी बनाउन आर्थिक क्षेत्रमा धेरै सुधारको आवश्यकतामाथि जोड दिँदै आर्थिक अनुशासनलाई प्रभावकारी बनाउन प्रदेश सरकारले जेठ मसान्तपछि विकास योजनामा भुक्तानी नहुने नीति ल्याएको जानकारी दिनुभयो । मन्त्रालय र स्थानीयस्तरमा भ्रष्टातारविरुद्ध शून्य सहनशीलतालाई प्रभावकारी बनाउने तथा बजेटलाई समयमै नीति र कार्यक्रमअनुरूप खर्च गर्ने कार्यमा आवश्यक सुधार गरिने पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले सरकारले एक वर्षको अवधिमा ३३ विधेयक तयार गरी प्रदेशसभामा पठाएको, सोमध्ये १६ विधेयक प्रमाणीकरण भई कानूनको स्वरूप ग्रहण गरिसकेको र प्रदेश प्रशासन तथा प्रदेश निजामती सेवासहितका १५ विधेयक सरकारले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको र यसै वर्ष प्रदेश निजामती, प्रदेश लोकसेवा, प्रदेश प्रहरीलगायत प्रादेशिक संरचना गठन हुने जानकारी दिनुभयो । सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रदेशका आठै जिल्लामा आठ पालिकामा शुरु, पिछडिएका वर्गको उत्थान कार्यक्रम प्रारम्भ, शहीद परिवार रोजगार योजना र घाइते सम्मान कार्यक्रम कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *