मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवबाट कुटिएका छन् । आइतबार दिउँसो कार्यकक्षमै बोलाएर मन्त्री यादवले आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई परियोजना नदिएको भन्दै सचिव झालाई गालामा दुई झापड हानेका हुन् ।

झापड हानेपछि मन्त्री यादवले प्रहरीलाई खबर गर्दै नियन्त्रणमा लिन समेत निर्देशन दिएको थिए । मन्त्रीले सचिवलाई झापड हान्दै नियन्त्रणमा समेत दिन प्रहरीलाई निर्देशन दिएपछि कर्मचारीले विरोधमा मन्त्री यादवको कार्यालयमा धर्ना दिएका छन् ।

क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १९३ गैरसरकारी संस्थाले प्रस्ताव ल्याएकोमा ४० वटा मात्रै छनोटमा परेको बताइएको छ । ती छनोटमा परेका गैरसरकारी संस्थामा मन्त्रीले भनेको संस्था नपरेपछि यादव सचिवसँग रुष्ट बनेको बताइएको छ ।

मन्त्री यादवले भने आफूले नकुटेको दाबी गरेका छन् । उनले सचिव झा. प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

यसैबीच कुटपिटको विषयलाई लिएर प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *