स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरु पतन हुन्छन : आचार्य

पाल्पा ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरुको पतन हुने बताउनु भएको छ । पाल्पाको रामपुरमा नेपाल पत्रकार महासंघको ११ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले पछिल्लो समयमा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरु सलबलाई रहेकाले ढिलो चाँडो पतन भएर जाने जिकिर गर्नुभयो ।
अध्यक्ष आचार्यले प्रेस र सञ्चार माध्यमको अधिकार संविधानमा उल्लेख गरेर स्थानीय तहमै पाउने भनिए पनि अझैपनि केन्द्रमै थाति राखिएकोले अब त्यसलाई स्थानीय तहमा लैजान जरुरीरहेको बताउनुभयो । उहाँले २४ वर्ष देखि श्रमजीवी पत्रकार ऐनको कुरा पटक पटक उठे पनि लागू हुन नसकेको बताउँदै सञ्चारमाध्यम र पत्रकार राजनीतिक दलको भातृ संगठन नभई सहयात्री भएर काम गर्न पत्रकारलाई निर्देशन दिनुभयो ।
क्रियाशील आठ पत्रकार सम्मानित
यस्तै साधारण सभाको अवसरमा जिल्लाका ८ पत्रकार पुरस्कृत भएका छन । पुरस्कृत हुनेमा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुर्योदय टेलिभिजनमा कार्यरत राजेन्द्र लिगल, सगरमाथा टेलिभिजनमा कार्यरत किरण कौशल पुरस्कृत भएका छन । ग्रामिण पत्रकारिता पुरस्कारबाट रेडियो पाल्पामा कार्यरत दुर्गेश मल्ल, सामुदायिक रेडियो रामपुरमा कार्यरत सिर्जना घिमिरे पुरस्कृत भएका छन । त्यस्तै सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, समुदायिक रेडियो रामपुरकी सुशिला रेग्मी, इरानीमहल डटकमका अमृत अधिकारी र रेडियो कुटुम्बका स्टेशन म्यानेजर नारायण न्यौपाने पुरस्कृत भएका छन । महासंघको ११ औं साधारण सभा १५ बुँदे रामपुर घोषणा पत्र जारी गर्दै सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *