८ औं वर्षमा फेयर नेपाल डटकम: निष्पक्ष पत्रकारिताको यात्रामा नयाँ अध्याय

What To Know

  • पत्रकारिताको मार्ग सरल कहिल्यै हुँदैन — अझ निष्पक्ष, सत्य र जनपक्षीय पत्रकारिता गर्न त झन् चुनौतीको पर्खाल नै चिर्नुपर्छ। फेयर नेपाल डटकम स्थापना हुँदा हामीसँग एउटै अठोट थियो — ‘सत्यतथ्यमा आधारित समाचार, विवेकसम्मत विश्लेषण र जिम्मेवार पत्रकारिता’। यही मूल मन्त्रलाई आधार मानेर हामीले सत्ताका रक्षक होइन, जनताको आवाज बन्ने बाटो रोज्यौं।.
  • हामी प्रविधि र पत्रकारिताको संयोजन गर्दै, तथ्यमा आधारित र जिम्मेवार सामग्री तयार गर्न प्रतिबद्ध छौं। चाँडै नै हामी पाठकहरूको साथमा नयाँ ढंगको प्रस्तुति, बहुआयामिक विषयवस्तु र मोबाइलमै केन्द्रित उपयुक्त सामग्रीको विकास गर्दैछौं।.

फेयर ब्रडकास्टिङ कम्पनी प्रालिद्वारा सञ्चालित फेयर नेपाल डटकम www.fairnepal.com आजदेखि आफ्नो आठौँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, स्रोत, सहयोगी संस्थाहरू र सशक्त नागरिक समाजप्रति आभार प्रकट गर्दछौं जसको निरन्तर साथ, समर्थन र विश्वासले आज हामी यो यात्राको यो मुकामसम्म आइपुग्न सकेका छौं।

पत्रकारिताको मार्ग सरल कहिल्यै हुँदैन — अझ निष्पक्ष, सत्य र जनपक्षीय पत्रकारिता गर्न त झन् चुनौतीको पर्खाल नै चिर्नुपर्छ। फेयर नेपाल डटकम स्थापना हुँदा हामीसँग एउटै अठोट थियो — ‘सत्यतथ्यमा आधारित समाचार, विवेकसम्मत विश्लेषण र जिम्मेवार पत्रकारिता’। यही मूल मन्त्रलाई आधार मानेर हामीले सत्ताका रक्षक होइन, जनताको आवाज बन्ने बाटो रोज्यौं।

पछिल्लो सात वर्षको दौरान हामीले अनगिन्ती आरोह-अवरोह भोग्यौं। सीमित स्राेत साधन र जनशक्तीका भरमा प्रतिस्पर्धात्मक व्यवसायिक पत्रकारिता गर्नु कम्ति चुनाैतिपूर्ण थिएन तर हाम्रो सम्पादकीय दृष्टिकोणबाट कहिल्यै विचलित भएनौं। सत्ताका विरुद्ध सत्य बोल्दा आलोचना पनि भोग्यौं, प्रशंसा पनि पायौं। तर पत्रकारिताको धर्मबाट पछि हटेनौं।

आज हामी ८ औं वर्षमा प्रवेश गर्दा, फेयर नेपाल डटकम केवल एउटा समाचार पोर्टल मात्र होइन, जनजागरणको प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ। हाम्रो प्राथमिकता अझ सशक्त अनुसन्धानात्मक पत्रकारिता, स्थानीय आवाजको प्रतिनिधित्व, नीति विश्लेषण र बहसको संस्कृति प्रवर्द्धन गर्नु हुनेछ।

हामी प्रविधि र पत्रकारिताको संयोजन गर्दै, तथ्यमा आधारित र जिम्मेवार सामग्री तयार गर्न प्रतिबद्ध छौं। चाँडै नै हामी पाठकहरूको साथमा नयाँ ढंगको प्रस्तुति, बहुआयामिक विषयवस्तु र मोबाइलमै केन्द्रित उपयुक्त सामग्रीको विकास गर्दैछौं।

समाचारको भीडमा सत्यको खोजी गरिरहेका तपाईंहरूकै कारण फेयर नेपाल आज यहाँसम्म आइपुगेको हो। हामी तपाईंहरूमाझ अझ बढी नजिक, अझ बढी उत्तरदायी र अझ बढी निष्पक्ष बन्ने संकल्पका साथ अगाडि बढिरहेका छौं।

हामी अझ बढी सशक्त, अझ बढी तथ्यपरक र अझ बढी जनपक्षीय पत्रकारिताका लागि प्रतिबद्ध छौं।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *