नेपाल एकीकरणदेखि व्यवस्था परिवर्तनसम्म नेपालीको योगदान, नेमकिपाद्वारा कार्यक्रममा फोटो टाँसेर विदेशीको सम्मान !

अनुसा थापा
नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौं महाधिवेशन गर्यो । नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले भव्य कार्यक्रमस्थल बनाएर महाधिवेशन गरेको छ । कार्यक्रमको पहिलो दिन विभिन्न ठाउँबाट र्याली निकालियो ।

बाजागाजासहित र्याली निकालेर नेमकिपाका नेता–कार्यकर्ता सल्लाघारी चौरमा भेला भए । कार्यक्रममा सहभागी जम्मै नेपाली थिए । रोचक प्रसंग के हो, नेपाली उपस्थित कार्यक्रमको स्टेजमा सबै विदेशी नेताको फोटो झुण्ड्याइएको थियो । एक जना नेपाली नेताको पनि तस्बिर थिएन ।

त्यही फोटोको तल्लोपट्टी अध्यक्ष नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बसेका थिए । बाइसे र चौबिसे राज्यमा छरिएको नेपाललाई एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाह हुन् । ठूलो संघर्ष र धेरैको बलिदानपछि देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ ।

देशमा यो व्यवस्था ल्याउनका लागि १७ हजार नेपालीले आफ्नो ज्यान दिएका छन् । १० वर्षे जनयुद्धको क्रममा हजारौं नागरिक अंगभंग भएका छ्न । नेपालको संविधान, २०७२ जारी भएर कार्यान्वयनमा छ । नेमकिपाले देशको संविधान मान्छौं र व्यवस्थाअनुसार चल्छौं भनेर स्वीकारिसकेको छ ।

संविधान बनेपछि २०७४ सालमा भएको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रेम सुवालले चुनाव जिते । २०७९ मा पनि उनले भाग लिए, जिते । मेयरमा पनि सुनिल प्रजापतिको दुई कार्यकाल भएको छ । संविधान जारी भएपछि चुनाव लड्नु भनेको संविधान मान्नु हो ।

२०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलिय व्यवस्था ल्याउँदा हजारौं नागरिक शहिद र घाइते भए । २०४८ देखि २०७० सालसम्म भक्तपुर १ नम्बर क्षेत्रबाट नारायणमान बिजुक्छेंले चुनाव जितेका छन् । पहिले नेमकिपाले भक्तपुर २ नम्बर क्षेत्रबाट पनि चुनाव जित्थ्यो ।

कालिकोट र जुम्लामा पनि नेमकिपाले चुनाव जितेको इतिहास छ । हाल मुलुक जहाँ छ, त्यो नेपाली जनताको योगदान हो । नेपाली जनता नलडिदिएको भए, आज यिनीहरुले ठाउँ पाउँथे ? हरेकपटक व्यवस्था परिवर्तन हुँदा जनताले आफ्नो ज्यान दिएका छन् । व्यवस्था परिवर्तन भएपछि नारायणमान बिजुक्छें, प्रेम सुवाललगायत सांसद बन्न पुगे ।

तर, उनीहरुले जनताको योगदानको सम्मान गरेनन् । पृथ्वीनारायण शाह र नेपालका शहिदहरुको तस्बिर राख्नुको साटो विदेशीको तस्बिर ल्याएको झुण्ड्याइयो । यस्तालाई के आधारमा नेता भन्ने ? यिनीहरु जनताले तिरेको कर खान मात्र आएनन् । नेपालको नेता भन्ने अनि विदेशीको सम्मान गर्ने । यस्ता पनि नेता ?

यिनीहरुले जनतालाई भ्रमित बनाउने काम गर्दैै आएका छन् । जनताले तिरेको करबाट तलब खाने, लुगा लगाउने, सरकारी गाडी चढ्ने अनि फोटोचाँहि विदेशीको टाँग्ने ? यिनीहरुलाई पदमा पुर्याउनका लागि जनताले दिनभर लाइनमा उभिएर मतदान गरे । यिनीहरुले त त्यो मतको पनि अपमान गरे ।

ट्रष्टको जग्गामा कार्यक्रम गरेको भनि चौतर्फी विरोध भएपछि फागुन १७ गते कार्यक्रमस्थल सारियो । २०२४ सालमा राजपरिवारले खरिद गरेको सल्लाघारी चौरको १०८ रोपनी दुई आना एक दाम जग्गामध्ये अधिकांश हिनामिना भइसकेको छ । एक हजार रुपैयाँ प्रतिरोपनीमा राजा महेन्द्रले त्यहाँका स्थानीयसँग खरिद गरेको जग्गामा अब जम्मा ७०–७५ रोपनी बाँकी छ । त्यहाँको जग्गा मिच्ने जम्मै नेमकिपाका कार्यकर्ता हुन् ।

भोटका लागि उनीहरुले जग्गा मिच्नेलाई संरक्षण गरिरहेका छन् । व्यक्तिले मिचेर बाँकी भएको जग्गामा घेराबार लगाइएको छ । सरकारको सम्पत्तिमा व्यक्तिहरुले रजाइँ गरिरहेका छन् । स्थानीय बिकुलाल ख्याउँजुले तीन वटा ढुंगेधारा पुरेर ठूलो घर बनाएका छन् । सो घरमा फलफूल र किराना पसल सञ्चालनमा छ ।

सल्लाघारीको आर्मी ब्यारेकमूनि दायाँबायाँ, दुवाकोट जाने टर्निङ, हनुमन्ते खोलाभन्दा यता सिर्जनानगरको जग्गा २०२८ सालमा नापी भएको थियो । ती जग्गा ऐलानी, सरकारी र गुठी भनि दर्ज गरिएको छ । २०३० सालसम्म त्यहाँ एउटा छाप्रो पनि थिएन । २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले छाप्रो बनाए ।

२०३५ सालमा एउटाले कच्ची ईँट्टाको घर बनायो, झिंगटीको टाइल हाल्यो । २०४६ मा बहुदलीय व्यवस्था आएपछि यो ठाउँको हजारौं रोपनी जग्गा नेमकिपाले आफ्नो कार्यकर्तााको नाममा दर्ता गर्यो । यो ठाउँको जग्गा आनाको २५ लाखदेखि करोडसम्म पर्छ । ७६ जिल्लाको मान्छेले यहाँ जग्गा किनेर घर बनाएका छन् ।

आफ्नो जिल्लामा हुँदा विभिन्न पार्टीमा लागेकादेखि बहालवाला र भूपू सरकारी कर्मचारीले यहाँ जग्गा किनेर घर बनाएको पाइन्छ । उनीहरुले आफ्नो पैसा हालेर जग्गा किनेका छन्, घर निर्माण गरेका छन् । तर, उनीहरु नेमकिपालाई नै मतदान गर्छन् । यसको कारण हो–जग्गा बचाउने खेल ।

अर्को पार्टी आएमा आफ्नो जग्गा सरकारको नाममा जान्छ भन्ने डर त्यहाँका स्थानीयलाई छ । तर, कहिलेसम्म नेमकिपाले जोगाउँछ ? सरकार लागेपछि कसको के लाग्छ ? भोलि कसैले अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी हाल्यो र अख्तियार तात्यो भने त सबै मुछिछन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल ट्रष्टले आफ्नो सम्पत्ति नखोज्दासम्म यिनीहरु बच्लान् । यद्यपि, कुनै न कुनै दिन त यिनीहरुको यो खेल बाहिर आउने नै छ । सरकारी सम्पत्ति दोहन गर्नेहरु कानुनको कठघरामा उभिने नै छन् । प्रतिनिधि सभामा २७५ जना सांसद छन् ।

नेमकिपाबाट एक जना मात्रै सांसद छन्–प्रेम सुवाल । सुवाल सदनमा भन्छन्,‘भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउनुपर्छ ।’ त्यसो भए उनको हकमा के गर्ने ? जनताले अरु सांसदलाई सोध्छन्,‘भक्तपुरको सरकारी जग्गा यिनीहरुले गलत रुपमा आफ्ना कार्यकर्तालाई दिएका छन् । यिनीहरुलाई कारबाही गर्नुपर्दैन ? मुखमा कहिलेसम्म बुझो हालेर बस्ने ?’

सत्तामा नगएको व्यक्तिले चाँहि के गलत काम नै गर्दैनन् ? आफू जोगिन र कसैले प्रश्न नउठाओस् भन्ने भएरै सुवाल कुनै पदमा नगएको प्रष्ट छ । अधिवक्ता युवराज सफलले रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध मुद्दा दायर गरे । तर, नारायणमान बिजुक्छेँ, प्रेम सुवाल र सुनिल प्रजापतिलाई किन मुद्दा हालेनन् ?

कानुन व्यवसायीहरुले यिनीहरुविरुद्ध मुद्दा दायर गर्नुपर्छ । यिनीहरुलाई कानुनको कठघरामा उभ्याउन आवश्यक भइसकेको छ । गलत काम गर्नेहरु कानुनको हातबाट नउम्किऊन् । देशको व्यवस्था जनताले परिवर्तन गरेका हुन्, देशको भूमिको संरक्षण नेपालीले गरेका हुन् । कर तिर्ने पनि जनता नै हुन् ।

अनि विदेशीको फोटो टाँसेर भाषण ठोक्नेलाई अब जनताले चिनिराख्नुपर्छ । यिनीहरुलाई नेपाली नेता भन्नु बेकार छ । यिनीहरु जनताले तिरेको करमा तर मार्न मात्र आएका हुन् । भक्तपुरमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, तालपोखरी, मठमन्दिरको जग्गा कति थियो ? अख्तियारले खोजोस् ।

भूमि मन्त्रालयको पनि ध्यान जाओस् । कुसुमदेवी थापा नेतृत्वको संसदीय समितिले पनि यो विषयमा चासो राखोस् । जनता कसैको दासी होइनन् । नेपाल सबैको हो । सरकारी सम्पत्ति सबैको साझा हो । जनतालाई भ्रममा राखेर नियामक निकायलाई अन्धकार पारेर सरकारी सम्पत्ति दोहन गर्नेहरुलाई कारबाही गरियोस् ।

कानुन सबैलाई सराबरी लाग्छ । सरकारी सम्पत्ति दोहनको कसूरमा अरु जेल गइरहँदा यिनीहरुको अगाडि कानुन किन निरीह ? जनताले अब आँखा खोलौं, अपराध गर्नेहरुको विरोध गरौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *