नक्कली डकुमेण्ट र झुट्टो बैंक ब्यालेन्सको आडमा अमेरिका, अस्ट्रेलिया पुगिँदै, काम नपाउँदा डिप्रेसनदेखि आत्महत्यासम्म !

रुषा थापा
वैदेशिक अध्ययनका निम्ति देश छोड्ने युवाहरुको संख्या वर्षेनी बढ्दो क्रममा छ । नेपालीहरु पढ्नका लागि विकसित मुलुक पलायन भएका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्सलगायत विभिन्न विकसित देशमा लाखौं रकम खर्चिएर गइरहेका छन् । पढ्न जाँदा आम्दानीको स्रोत र बैंक ब्यालेन्स देखाउनुपर्छ ।

तर, नक्कली डकुमेण्ट तयार पारेर विदेशी क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । जग्गा जमिन र आम्दानी केही नभएपनि पैसाको आडमा नक्कली डकुमेण्ट तयार पारिन्छ । बैंकका कर्मचारीलाई घुस खुवाइन्छ । झुट्टा बैंक ब्यालेन्स देखाउन लगाइन्छ । बचतकर्ताको रकम उसको खातामा देखाइन्छ । यसबापत बैंकका कर्मचारीले दुई लाख रुपैयाँ बुझ्छन् ।

साथै, भिसा नलागेसम्म खातामा राखिदिएको त्यो रकमको ब्याज पनि असुलिन्छ । यसरी नक्कली डकुमेण्ट र बैंक ब्यालेन्स देखाएर भिसाका लागि पठाइन्छ । अनि बैंक व्यालेन्स र आम्दानी देखेपछि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत देशले अध्ययनका निम्ति भिसा दिन्छन् । उनीहरुलाई के थाहा कि ती सबै डकुमेण्ट र बैंक ब्यालेन्स नक्कली हुन् । यता, विदेश उड्नेबित्तिकै उसको खाता रित्तो हुन्छ ।

किनकि उनीहरुबीच पहिल्यै यसबारे सम्झौता भएको छ । जसअनुसार त्यो व्यक्ति विदेश उड्नुअगाडि नै चेकमा हस्ताक्षर गर्न लगाइएको हुन्छ र सम्बन्धित देश पुग्नासाथ बैंकले उसको खातामा जम्मा गरिएको रकम निकाल्छ । र, सम्बन्धित खातावालाको जम्मा गरिदिन्छ । नक्कली डकुमेण्ट र झुट्टा बैंक ब्यारेन्स देखाएर अमेरिका, अस्ट्रेलिया त पुगिन्छ । तर, त्यहाँ पुगेर काम नपाएपछि अधिकांश नेपाली मानसिक समस्या तथा डिप्रेसनमा परेका छन् ।

फेरि फर्किन उसको परिवारसँग पैसासमेत छैन । विद्यार्थी भिसामा गएपछि काम पाइँदैन । काम खोज्न महिनौं भौतारिनुपर्छ । त्यसमाथि विद्यार्थी भिसामा गएकाले काम गरेको त्यहाँको सरकारले थाहा पाएमा कारबाही गर्नसक्छ । यसले त्यहाँ लुकिछिपी काम गर्नुपर्छ । एकातिर कलेजको फ्रि तिर्नुपर्ने हुन्छ, अर्कोतिर पैसा हुँदैन । अनि यही तनावले कतिपयले आत्महत्यासमेत गर्छन् भने लाश ल्याउनसमेत हैसियत परिवारको हुँदैन । नक्कली डकुमेण्ट बनाएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक पठाइदिने कन्सलट्रेन्सी थुप्रै छन् ।

पाँच लाखदेखि दश लाख रुपैयाँसम्म बुझेर उनीहरुले नक्कली डकुमेण्ट तयार पारी नेपाली विद्यार्थीहरुलाई त्यहाँ पठाउने गरेका छन् । कतिपय चाँहि भिजिट भिसामा अमेरिका, अस्ट्रेलिया जान्छन् अनि त्यतै लुकेर बस्छन् । जसका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम भएको छ । बैंकमा भएको पैसा सर्वसाधारणको हो । तर, बैंकका कर्मचारी, सञ्चालक, अध्यक्षहरुले आफ्नो स्वार्थका निम्ति जनताको पैसा जथाभावी लगानी गरेका छन् । बचतकर्ताहरु आफ्नो पैसा बैंकमा राखेपछि भौचरको भरमा घर फर्किन्छन् । बैंकमा आफ्नो रकम सुरक्षित छ भनेर उनीहरु ढुक्क भएर घरमा बस्छन् ।

विडम्बना, बैंकका सञ्चालक, कर्मचारी र अध्यक्षले छिटो कमाउन बचतकर्ताको रकम जोखिमपूर्ण क्षेत्र वा जथाभावी लगानी गरिदिन्छन् । झुट्टा बैंक ब्यालेन्स देखाउनदेखि घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा बचतकर्ताको खर्बौ रकम लगानी गरिएको छ । यसमा लगानी गर्दा बैंकका हाकिम र कर्मचारीलाई घुस आएपछि बचतकर्ताको रकम भने संकटमा पर्छ । स्मरण रहोस् कि घरजग्गा, गाडी र सेयरमै लगानी गरेका कारण सहकारी भाग्नुपर्यो ।

सहकारीमा बचत गरेका बचतकर्ताहरुको रुवाबासी भएको छ । वर्तमान सरकारमा ऊर्जामन्त्री दीपक खड्का छन् । उनले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको तर साँवा ब्याज नतिरेको वर्षौ भइसक्यो भन्ने चर्चा बजारमा व्यापक छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि बैंकबाट ११ अर्ब ऋण लिएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन् । यद्यपि, दुवैले बैंकको साँवा ब्याज नतिरेको बताइन्छ ।

यो त उदाहरण मात्रै हो । बैंकले अन्य ठूल्ठुल्ला व्यापारी तथा व्यवसायीलाई अर्बदेखि खर्बसम्म ऋण दिएको छ । अनि सर्वसाधारणले दुःखले कमाएको पैसा बैंकका हाकिम र कर्मचारीको मिलेमतोमा व्यपारी, व्यवसायीमाथि मनलाग्दी रुपमा पोस्दा सरकार भने मौन छ । सरकार न त्यस्ता बैंकलाई कारबाही गर्छ न बचतकर्ताको रकमको ग्यारेन्टी । किनकि भोलि त्यो व्यापारीले ऋण नतिर्नेबित्तिकै डुब्ने भनेको जनता हुन् । बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी त भागिहाल्छन् ।

सरकार भन्छ, ‘राज्यको ढुकुटी रित्तो छ । देशमा पैसा छैन ।’ पढ्ने नाममा वर्षेनी लाखौं विद्यार्थी विदेश पलायन भएका छन् । उनीहरुसँगै खर्बौ रकम विदेशिएको छ । अमेरिका, अस्ट्रेलिया जान एउटै विद्यार्थीले २० देखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । आफ्ना छोराछोरी विकसित मुलुक पठाउन अभिभावकले जायजेथा सबै बैंकमा धितो राखेर ऋण लिए । अहिले छोराछोरी त्यहाँ पुगेपनि राम्रो आम्दानी नभएपछि उनीहरुले ऋण तिर्न सकेका छैनन् ।

बैंकको साँवा ब्याज दिनहुँ बढिरहेको छ । आम्दानी चाँहि केही छैन । उनीहरु ऋण नै तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसैले, कतिपयले त हातैसमेत उठाइसके । आफ्नो धितो लिलाम गर्न भनिसके । तर, केही वर्षयता घरजग्गा, गाडी र सेयरमा आएको मन्दीका कारण धितो लिलाम गरेर बेचेपनि सम्पूर्ण ऋण असुलउपर हुनसक्ने अवस्था छैन ।

आफूहरुको निक्षेप बैंकले जथाभावी लगानी गरेको थाहा पाएपछि सर्वसाधारण धमाधम आफ्नो पैसा निकालिरहेका छन् । जोखिम भएपछि घरमै पैसा लुकाएका छन् । किनकि उनीहरुले सहकारीका बचतकर्ताको अवस्थामा पुग्न चाहँदैनन् । मुलुकमा मन्दी आउनुमा बैंक, वित्तिय संस्था प्रमुख कारण हुन् । सोचविचार नगरी घुसको आडमा बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले जथाभावी लगानी गर्दा जनता त डुबे नै सँगै देशसमेत संकटमा परेको छ ।

गाडी छिटो कुदाएमा दुर्घटना हुनसक्छ । त्यसरी नै छिटो छिटो कमाउने लोभमा अघि बढेका बैंक, वित्तिय संस्थाका हाकिम र कर्मचारीका कारण आज देशको अर्थतन्त्र नै धरायसी अवस्थामा पुगेको छ । हुन त बैंक, वित्तिय संस्थाको नियत नै अरुलाई ठग्नु, लुट्नु हो । बाहिर सभ्य भएर भित्रभित्रै बचतकर्ता र ऋणीलाई डुबाउने । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भने, ‘यसअघि प्रधानमन्त्री हुँदा अहिलेजस्तो पैसाको हाहाकार थिएन ।’

देशलाई यो अवस्थामा कसले पुर्यायो त ? बैंक, वित्तिय संस्थाले होइन र ! छिटो कमाउन जनताको रकम जथाभावी लगानी गरिदिए । आज देश र जनता दुवै कंगाल भएका छन् । जनता कर तिर्न त परको कुरा हो, बाँच्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । अनि जनताले कर नतिरेपछि देशको ढुकुटी रित्तो नभएर के हुन्छ ? अर्थ मन्त्रालय र राष्ट्र बैंकले अब बैंक, वित्तिय संस्थालाई बचतकर्ताको रकम जथाभावी लगानी गर्नबाट रोक्नुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *