बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विदेश पठाइदिने नाममा ठगी व्याप्त, रोजगारी दिन नसक्ने सरकार दलाललाई कारबाही गर्नसमेत असफल
रुषा थापा
देशमा पर्याप्त रोजगारी छैन । बेरोजगारी बढ्दो क्रममा छ । पछिल्लो समय रोजगारीको खोजीमा विदेशिनको संख्या ह्वात्तै बढेको छ । रोजगारीको सिलसिलामा मानिसहरु खाडीलगायत विभिन्न मुलुक पुगेका छन् । विदेशिनु नेपालीको बाध्यता हो । विडम्बना, यही बाध्यतामा केही ठगहरुको रजगज चलेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गरेको घटना व्याप्त छ । व्यक्तिदेखि मिनपावर, कन्सलट्रेन्सीसम्म् यसमा संलग्न हुने गरेका छन् । अहिले बजारमा अधिकांश मानिसहरुको मुखबाट एउटा गुनासो सुनिन्छ, ‘विदेश जान मिनपावरलाई पैसा बुझाएको महिनौं बित्यो तर अहिलेसम्म केही भएको छैन ।’
दुबई, कतार, मलेसिया, साउदी अरबलगायत खाडी मुलुक जानका निम्ति एउटै व्यक्तिले मिनपावरलाई दुई लाखदेखि पटकपटक गरेर २०–२५ लाख रुपैयाँसम्म बुझाएका छन् । पैसा बुझाउँदा एक महिनाभित्र भिसा आउँछ भनिएकोमा सात–आठ महिना बित्दासमेत केही प्रक्रिया अघि बढेको अधिकांशको गुनासो छ ।
उनीहरु भन्छन्, ‘देशमा त रोजगारी भएन । तर, विदेश जान खोज्दा पनि ठगीको सिकारमा पर्ने रहेछ । जे गरेपनि सुःख छैन ।’ यता, उच्च शिक्षाका निम्ति विकसित मुलुक पठाइदिने नाममा कन्सलट्रेन्सीहरुले पनि ठगी गर्ने क्रम बढेको छ । कन्सलट्रेन्सीले एउटै व्यक्तिबाट २० लाखदेखि करोडौं ठगेको सुन्ने गरिएको छ ।
त्यसो त अहिले अधिकांश मानिस ठगिनुको पछाडि आफन्तकै हात रहने गरेको छ । फलानो मिनपावर मैले चिनेको छु, त्यहाँ राम्रो हुन्छ भन्दै लगिन्छ । डकुमेन्ट, पैसा बुझाइन्छ । पछि मिनपावर नै भाग्छ । फेरि आफन्तले चाँहि त्यो मिनपावरबाट मानिस ल्याएबापत कमिशन खाएको हुन्छ । ‘शत्रु खोज्न घरबाहिर पर्नु पर्दैन’ भनेजस्तो भएको छ ।
जहाँ पनि दलालीको बिगबिगी छ । त्यो चाँहे वैदेशिक रोजगारीमा पठाइदिने नाममा होस् या घरजग्गा, गाडी र सेयरमा । दलालीका कारण लाखौं सर्वसाधारणको बिचल्ली भएको छ । विदेश गएर कमाउने भनेर मानिसहरुले आफन्त वा बैंकबाट ऋण लिएर दलालीलाई बुझाएका हुन्छन् । तर, दलाली भागेपछि उनीहरुको कन्तबिजोग भएको छ ।
मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । एकातिर रोजगारी छैन, अर्कोतिर ऋणको साँवाब्याज दिनहुँ बढिरहेको छ । ठगीमा परेको चिन्ता फेरि छँदैछ । यहाँ त दलालीहरुले आम नागरिकलाई जतिसुकै ठगेपनि छुट पाइने । किनकि उनीहरु राजनीतिक दलको कार्यकर्ता जो परे । दल भएपछि जस्तोसुकै अपराध गरेपनि उन्मुक्ति पाइने ।
कोट लगाएर जनता ठग्ने काम भइरहेको छ । हातमा दुईटा मोबाइल, कोट लगाई मिठो बोलेर सोझासाझा जनता ठगिन्छ । बैंक, वित्तिय संस्थाका कर्मचारीले पनि कोट नै लगाएर सर्वसाधारण जनता ठगे । सरकारी कर्मचारी कोट लगाएरै घुस खाएका छन्, भ्रष्टाचार गरेका छन् । अनि नेताहरुले पनि कोट नै लगाएर देश विदेशीलाई बेचिसकेका छन् ।
त्यसैले, अब कोट लगाउनेसँग जनता सचेत हुनुपर्छ । कोट लगाएको देखेर विश्वासमा पर्नुहुन्न । नत्र त्यही कोटले घरखेत सिद्धिन सक्छ । ठगहरु नयाँ नयाँ आइडिया ल्याइरहेका हुन्छन् । कहिले कुन बहानामा ठग्छन् त कहिले के मा । ठगको सिकारमा परेर कतिपयले घरखेत नै सिध्याएका छन् । घर न घाटको अवस्थामा पुगेका छन् ।
तर, दलालीहरुले सोझासाझा जनतालाई यसरी ठगिरहँदा सरकार चाँहि मुकदर्शक बनेर रमिता हेरिरहेको छ । जनता डुबेको । सुकुम्बासी अवस्थामा पुगेको । सरकारलाई करसँग मात्र सरोकार छ । त्यो कर चाँहे जनता ठगिएर आएको नै किन नहोस् । दलहरुलाई सदस्यता बढाउन पाए पुग्यो । आफ्ना पार्टीमा कस्ता व्यक्ति सदस्य छन् रु भन्नेसँग उनीहरुको चासो हुँदैन, चासो हुन्छ त सदस्य बढाउने मात्र ।
पत्रकारिता राज्यको चौथों अंग हो । जनताको पीडा, दुःख बाहिर ल्याउनु आम सञ्चार माध्यमको धर्म हो । तर, पत्रकारहरु अल्छी हुँदै गएका छन् । अचेल पत्रिकामा समाचार कम विज्ञापन बढी देखिन्छ । पत्रकारहरुले समाजमा लुकेका घटनाहरुको खोजतलास नै गर्न छोडिसकेका छन् । जसका कारण मानिसहरुले पत्रपत्रिका पढ्नसमेत छोडेका छन् ।
जनता भन्छन्, ‘सबै पत्रिकामा एउटै समाचार हुन्छ । शीर्षक मात्र फेरिएको हुन्छ । पत्रिकामा समाचार केही हुन्न । विज्ञापन मात्र देखिन्छ । कि त दलको गुनगान गाएको हुन्छ ।’ यहाँ सबैलाई कमाउनुपरेको छ । पछिल्लो समय सञ्चार माध्यमहरु विज्ञापनको लोभमा पर्दा ठगहरुको मनोबल बढेको हो । विज्ञापन आएपछि जतिसुकै ठगेपनि सञ्चार माध्यमले सोविरुद्ध समाचार लेख्दैनन् ।
अनि दलालीहरु झन् सर्वसाधारण ठग्छन् । सञ्चार माध्यम विज्ञापनको लोभमा पर्नुहुन्न । विज्ञापन चाहिन्छ तर कस्तो विज्ञापन लिने भनेर सञ्चार माध्यमले छुट्याउन सक्नुपर्छ । विज्ञापनका निम्ति करोडौं जनतामाथि क्षति पुगिरहेको अवैध काम वा ठगीलाई दबाउनुहुन्न । सत्यतथ्य बाहिर ल्याउनैपर्छ । जनता अझै पनि अशिक्षित, गरिब छन् । जसको फाइदा दलाल, बिचौलियाहरुले उठाइरहेका छन् । यस्तो अवस्थामा सञ्चार माध्यमले आफ्नो धर्म निर्वाह गरेर जनताको आँखा खोलिनुपर्छ । जनताप्रति सरकारलाई जवाफदेही बनाउनुपर्छ ।
हुन त जनता ठग्ने राजनीतिक दलहरु नै हुन् । दलका कार्यकर्ताले नै मिनपावरदेखि कन्सलट्रेन्सी, निजी विद्यालय, सहकारी, बैंक खोलेका छन् । फेरि कार्यकर्तालाई पर्दाभित्र बसेर ठग्न सिकाउने चाँहि नेतृत्वकर्ता वा नेता हुन् । बाहिर जनताको पक्षमा बोल्ने, भित्र आफैं ठग्न लगाउने काम भइरहेको छ ।
ओली, देउवा, प्रचण्ड र नेपाल यसका प्रमुख नाइके हुन् । फेरि यिनीहरुलाई कारबाही गर्ने हिम्मत कसैसँग छैन । जनताले तिरेको करबाट तलबभत्ता खाने सुरक्षाकर्मीहरु यिनीहरुलाई सलाम ठोक्छन् । जबकी यस्ताको हातमा हत्कडी लगाइदिनुपर्ने हो । जबसम्म यी चार जना कानूनको कठघरामा आउँदैनन्, तबसम्म ठगी र अपराध चलिरहने छ ।
सुन तस्करीदेखि मानव तस्करी, सरकारी, सार्वजनिक गुठीका जग्गा व्यक्तिको नाममा लैजाने वा हिनामिना गर्ने दलकै कार्यकर्ता हुन् । नेतृत्व निर्देशन दिने, कार्यकर्ता त्यो पूरा गर्ने । त्यसैले, दलका नेतृत्वलाई कानूनको कठघरामा नल्याएसम्म देशमा यस्ता अपराध भइरहने छ ।