बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गठबन्धनको सरकारमा एमालेमाथि हिलो, काँग्रेस पानीमाथिको ओभानो !
अनुसा थापा
अहिले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनको सरकार छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर, सरकारमा दुवै दल हुँदा गाली खानेचाँहि एमाले मात्र बनिरहेको छ । सर्वसाधारण त एमालेलाई गाली गर्छन् नै, साथै काँग्रेसका नेता–कार्यकर्ता पनि एमालेमाथि नै दोष थुपारिरहेका छन् ।
सरकारमा दुवै पार्टीको सराबरी हिस्सा छ । काँग्रेसबाट पनि मन्त्रीहरु छन् । यद्यपि, सबैले निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा वर्तमान सरकार विफल बन्न पुगेको हो । काँग्रेसका नेता–कार्यकर्ता एमालेमाथि हिलो छ्यापेर आफू पानीमाथिको ओभानो बन्ने दाउमा छ । काँग्रेसका मन्त्रीहरु सरकारमा छ भन्ने कुरा उनीहरुले बिर्सिएका छन् ।
अहिलेको सरकार बढी विवादमा पर्नुमा काँग्रेसको ठूलो हात छ । पहिलो कुराः काँग्रेसका मन्त्रीले सिन्को भाँचेनन् । एकातिर सरकारमाथि वितृष्णा जागिरहँदा काँग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउन आगोमा पेट्रोल थप्ने काम गरे ।
त्यो कदमले जनता झनै आक्रान्त बने । प्रधानमन्त्री ओली केही दिनअघि थाइल्याण्ड भ्रमणमा गए । त्यतिबेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी काँग्रेसकै नेता रहेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको थियो । उनले मन्त्रिपरिषद्को बैठक बोलाएर शिक्षकहरुको माग सम्बोधन गर्नुपर्ने धारणा राखे ।
शिक्षकलाई सडकमा उतार्ने काँग्रेस र माओवादी भएको कुरामा दुईमत छैन् । त्यसैले त काँग्रेस र माओवादी शिक्षकको पक्षमा जोडतोडले आवाज उठाइरहेको छ । काँग्रेसले सरकारमा बसेर मह चाँटिरहेको छ तर गालीजति एमालेले मात्र खाइरहेको छ । काँग्रेसले अहिले सरकारमा गएर फाइदा त उठाइरहेको छ नै, २०८४ को निर्वाचनमा आफ्नो अवरोध हटाउने उनीहरुको रणनीति हो ।
त्यसैले सरकारलाई बिनाकाम विवादमा फसाइरहेका छन् । कुलमानको अवकाश हुन केही महिना मात्र बाँकी थियो । तर, काँग्रेसको दबाबमा परेर हटाइयो । एकाध महिनामा घर जानेलाई हटाएर यत्रो गाली एमालेले खाइरहेको छ । एमालेका कार्यकर्ताहरु कि ओलीले काँग्रेससँगको गठबन्धन तोड्नुपर्ने, कि संसद् विघटन गर्नुपर्ने, कि साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने कि, कि सरकार छोड्नुपर्ने बताउँछन् ।
खाने बेला बराबर, अनि गाली खाने एउटैले मात्र किन ? महत्वपूर्ण मन्त्रालयमा काँग्रेसकै मन्त्री छन् । तर, ती मन्त्रीहरु सरकारलाई असफल बनाउन लागिपरेको प्रष्टै देखिन्छ । ओलीले अहिले नै कुनै कदम नचाल्ने हो भने २०८४ को चुनावमा एमाले जिरो हुन्छ । दिँउसै टुकी बालेर खोज्नुपर्ने स्थिति आउन सक्छ ।
किन कि अहिले एमाले सबैको आँखाको तारो बनिरहेको छ । एमालेमाथि काम गर्न नसकेको आरोप लागिसकेको छ । सबैले एमालेलाई गाली गरिरहँदा काँग्रेस पनि त्यसमा छ है भन्ने ख्याल गरिएको छैन् । यसले त काँग्रेसलाई फाइदा भइरहेको छ । काँग्रेसले नबोलि नबोलि भित्रभित्रै खेल खेलिरहेको छ तर ओलीले बुझेका छैनन् ।
माओवादी ‘मौकामा चौका’ हान्ने पार्टी हो । माओवादीलाई कसरी सत्तामा जान पाइन्छ ? कसरी भ्रष्टाचार गर्न पाइन्छ ? भन्ने मात्र छ । कहिले काँग्रेससँग मिलेर सत्तामा जान्छ, कहिले एमालेसँग । २०६४ सालमा १२० सीट प्रत्यक्ष जितेको माओवादी २०७९ मा आइपुग्दा ३२ सीटमा सीमित भएको छ ।
अझैपनि हामी नेता । देश र जनताको लागि काम गर्न आएको । माओवादी सत्ता बिना ‘पानी बिनाको माछा’ जस्तै हुन्छ । यदि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राजनीति र कुटनीतिको क्षमता भएको भए आज माओवादीको हालत यो हुन्थ्यो ? जनताको नजरमा माओवादी नाङ्गिएको छ ।
तर, प्रचण्डले अहिलेपनि के कारणले जनताले हामीलाई विश्वास गरेनन् ? हाम्रो गल्ती कहाँ भयो ? खोताल्दैनन् । उनलाई आफन्तलाई पद बाँडेरै भ्याइनभ्याइ हुन्थ्यो । नातावाद र कृपावादमा फस्दा माओवादीको अस्तित्व नै मेटिने धरापमा पुगेको छ । ओलीले पछिल्लो समय जुनै कार्यक्रममा एउटा कुरा सुनाउँछन्,‘मेरो समयावधि यति महिना छ । त्यो सकिनेबित्तिकै म प्रधानमन्त्री छोडिदिन्छु ।’
त्यतिबेलासम्म त एमाले नै नरहलाजस्तो छ । काँग्रेस एमालेलाई विफल बनाउन रणनीति बनाएको बनाएै छ, ओली तमासा हेरेको हेर्रै छन् । अहिले व्यापक ‘केपी चोर, देश छोड’ लगायतको नारा लागिरहेको छ । तर, ओलीले हलुकामा लिइरहेका छन् । विसं २०४८ सालयता हेर्ने हो भने दुई पार्टीमध्ये एउटा सत्तापक्ष र एउटा प्रतिपक्ष हुन्थ्यो ।
दुई पार्टी एक भएको पहिलोपल्ट हो । पहिलोपल्टमै काँग्रेस एमालेमाथि हाबी छ । विगतदेखिको बदला काँग्रेसले अहिले आएर लियो । तर, ओलीले बुझेनन् । अहिलेपनि उखानटुक्का भनेरै जादु चलाँउछु भन्ने ओलीलाई थियो । यद्यपि, काँग्रेसको खेलअगाडि उनको कुनै जादु चलेन् ।
ओली प्रधानमन्त्री भएको १० महिना बििितसकेको छ । त्यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी थियो । चुनावताका भने काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । सबै पालैपालो प्रधानमन्त्री बनेका छन् । तर, काँग्रेस र माओवादी देश बिगारेकै एमालेले हो भनेर भ्रम छरिरहेका छन् ।
तर, ओलीले चिर्नै सकेनन् । देश सकाउनमा तीनवटै पार्टी मुख्य भूमिकामा छन् । तर, दोष किन एउटाले मात्रै खेप्ने ? काँग्रेस, एमाले, रास्वपा, राप्रपा एमाले सकाउनमै लागेको छ । रवि लामिछानेलाई आफूलाई सहकारी ठगीमा समातेको रिस छ । एमालेले उनलाई सहकारीको पैसा खाँ भनेको होइन् ।
आफू गल्ती गर्ने अनि अरुमाथि रिस साँधेर हुन्छ ? राप्रपाका सांसद सदनमा छन् । लोकतन्त्र मान्छु भनेर आएकाहरु उनीहरु राजा चाहियो भनेर आवाज उठाइरहेका छन् । सदन के राजा माग्ने थलो हो ? एमाले ओलीको मात्र पार्टी होइन् । एमाले बन्नका लागि मनमोहन अधिकारी, मदन भण्डारीदेखि जनतासम्मको योगदान छ ।
तर, ओलीले गर्दा सबैको योगदान ‘वालुवामा पानी’ हुने भो । बुढापाकाले भन्थें,‘भुक्ने कुकुरले टोक्दैन्, नभुक्नेले टोक्छ ।’ काँग्रेस नेतृ तथा वर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि भुटानी शरणार्थीको आरोप लागेको थियो । आफ्नो श्रीमती पर्ने डरले देउवा हतारहतार बालकोट पुगेका थिए ।
अब ओलीले आरजुमाथि छानबिन गर्न लगाउनुपर्छ । बरु गठबन्धन तोडिओस्, गलत गर्नेले सजायँ पाउनुपर्छ । यो कदमले एमालेको बिग्रिएको छवि केही भएपनि उक्सिएला । काँग्रेसले चुप लागेर एमालेलाई सकाइसकेको छ । देउवाले आफ्नी श्रीमतीलाई पनि जोगाए, सरकारमा गएर मह पनि चाँटे, एमालेलाई पनि सकाए ।
उनले कहाँसम्मको रणनीति बनाएका रहेछन् ? बल्ल बुझिँदै छ । ओली र एमालेका नेताहरु अझैपनि टुलुटुलु रमिता हेरेर बस्ने हो भने अब एमाले नै नरहँला । एमाले काँग्रेसलाई लगेर बुझाए हुन्छ । माओवादी पत्तासाफ बनाएको प्रचण्डले हो । कहिले काँग्रेस त कहिले एमालेलाई लगेर पार्टीलाई बुझाउँदा पार्टीको यो दुर्दशा भएको होइन् ?
ओली र एमालेका नेताहरु कि गर कि मरको अवस्थामा छन् । अहिले नै कुनै कदम चालेनन् भने एमाले काँग्रेसमा विलान हुन्छ । ओलीले प्रचण्डलाई सरकारमा बोलाए भने उनी आइहाल्छ । प्रचण्ड आएपछि माधव नेपाल पनि आउँछन् । त्यसपछि मधेशी दल पनि पाउँछन् । अनि ओलीलाई काँग्रेसको गुलामी गरिरहन आवश्यक नै छैन् ।