काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू, कहाँ कहाँ गरियाे निषेध ?

काठमाडाैं । राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिनामंगल, तीनकुने हुँदै ललितपुरको सीमासम्म पर्ने बालकुमारीस्थित बागमती पुलसम्म कर्फ्यू लगाएको हो। कोटेश्वरदेखि जडीबुटीसम्म पनि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए।

प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाएको भण्डारीले बताए। तीनकुनेबाट सुरु भएको जुलूसले आसपासका क्षेत्रका घरमा ढुंगामुढा गरेको थियो।

त्यस्तै, प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक कम्प्लेक्समा आगजनी गर्नुका साथै सुविधानगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा पनि आगजनी गरेका छन्। झडपका क्रममा प्रहरीको एक थान हतियारसमेत खोसिएको बताइएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले प्रहरी र प्रदर्शनकारीबीच झडप भए पनि क्षतिको विस्तृत विवरण प्राप्त नभइसकेको जानकारी दिए।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *