हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मौसम विभागले किन दियो वर्षा, हिमपात र चिसो बढ्न सक्ने चेतावनी
काठमाडाैं । भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझबाट नेपालका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले यो मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ।
उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ।
साथै अधिकारीहरूले वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण र हवाई यातायात जस्ता क्षेत्रमा असर देखा पर्न सक्ने भन्दै पूर्व तयारी र सतर्कता अपनाउन अनुरोध गरेका छन्।
कहाँ कस्तो असर देखिनेछ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी वायुसँगै आएको न्यून चापीय प्रणालीको असरले गर्दा विभिन्न ठाउँमा हिमपात र वर्षा हुने आकलन गरिएको छ।
उनी भन्छन्, “हामी यस्तो खालको अवस्थालाई वेस्टर्न डिस्टर्बेन्स पनि भन्छौँ। यसपालीको हिउँद यामको पहिलो वेस्टर्न डिस्टर्बेन्स आयो। धेरै ठूलो वर्षा र भारी हिमपातको सम्भावना कम नै छ। तर पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने देखिन्छ।”
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी वायुसँगै आएको न्यून चापीय प्रणालीको असरले गर्दा विभिन्न ठाउँमा हिमपात र वर्षा हुने आकलन गरिएको छ।
उनी भन्छन्, “हामी यस्तो खालको अवस्थालाई वेस्टर्न डिस्टर्बेन्स पनि भन्छौँ। यसपालीको हिउँद यामको पहिलो वेस्टर्न डिस्टर्बेन्स आयो। धेरै ठूलो वर्षा र भारी हिमपातको सम्भावना कम नै छ। तर पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने देखिन्छ।”
त्यसबाहेक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाग्मती एवं कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने जनाइएको छ।
चिसो बढ्ने सम्भावना कति छ?
सोमबार दिउँसो समेत त्यस्तै किसिमको मौसम रहने भन्दै उक्त बुलेटिनमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने भनिएको छ।
ती सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।
विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने क्रम सोमबार राती पनि जारी रहनेछ।
विभागको बुलेटिनका अनुसार सोमबार राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसै गरी सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाइएको छ।
मौसमविद् पुडासैनीका अनुसार यो मौसम प्रणाली सक्रिय हुँदा चिसो बढ्ने सम्भावना रहेको छ।
उनले भने, “अहिले बिस्तारै तापक्रम घटिरहेको अवस्था नै छ। अझ गिरावट आएर चिसो हुने देखिन्छ। त्यही भएर सबै सर्वसाधारणहरूलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाबाटै हामीले विशेष बुलेटिन जारी गरेका हौँ।”
विभागले उक्त पश्चिमी न्यून चापीय प्रणालीलाई आफूले नियमित अनुगमन गरिरहेको जनाएको छ।
सोमबार रातिबाट मौसम क्रमशः सुधार हुँदै जाने अधिकारीहरूले बताएका छन्।
वेस्टर्न डिस्टर्बेन्स भनेको के हो?
वेस्टर्न डिस्टर्बेन्स पश्चिमी हिमालय क्षेत्रमा विशेष गरी जाडो महिनामा वर्षा निम्त्याउने एउटा महत्त्वपूर्ण मौसमी प्रणाली हो।
मौसमविद् पुडासैनी भन्छन्, “यो भूमध्यसागरमा उत्पन्न हुने एउटा प्रणाली हो। त्यहाँ उच्च चापीय प्रणाली हुन्छ तर यता तिर न्यून चापीय प्रणाली हुन्छ। उच्चबाट न्यूनमा आउँदा वायुमण्डलमा मौसमी अवस्थाहरू गडबड हुने हुन्छ। भूमध्यसागरबाट यो बिस्तारै अफगानिस्तान, पाकिस्तान, भारतहुँदै नेपालसम्म यसले बदली गराउने र वर्षा हुने हुन्छ।”
भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले ताजा वेस्टर्न डिस्टर्बेन्सले पश्चिम हिमालय र उत्तर पूर्वी भारतमा आइतबार आफ्नो प्रभाव देखाउन थाल्ने शनिवार उल्लेख गरेको छ।
उक्त केन्द्रका अनुसार उक्त मौसम प्रणालीले सोमबारसम्म पश्चिम हिमालय क्षेत्रमा हल्का र मध्यम वर्षा र हिमपात गराउनेछ।
साथै भारतका पन्जाब, हरियाणा, उत्तर प्रदेश र चण्डीगढका थोरै ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको उक्त केन्द्रले उल्लेख गरेको छ।
अघिल्लो वर्ष यो मौसम प्रणाली नेपालमा केही ढिला देखा परेको मौसमविद्हरू बताउँछन्।
“सबै पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा र हिमपात हुन्छ भन्ने छैन। अघिल्लो साल अलिकति ढिला आएपनि चार वा पाँच पटकसम्म आएको थियो। यसपालि अलिकति चाँडै हो।”