सहकारी ठगी प्रकरण: म्याद थपका लागि रवि र छविलाई अदालत उपस्थित गराइयो

पाेखरा । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न बिहीबार अदालत लगिएकाे छ।

अदालतले गत आइतबार दिएको समय आज सकिन लागेकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिनुभयाे ।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो।

अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।

यसअघि सहकारी ठगी प्रकरणमा ६ असोजमा गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक जोशी पक्राउ परेका थिए । सुरुमा पक्राउ गरेर पोखरा लगिएका जोशीलाई त्यहाँबाट रुपन्देही लगेर बयान लिएर फेरि पोखरामै ल्याइएको छ ।

जोशीलाई दसैँ बिदाअघिको १७ असोजलाई आधार मानेर प्रहरीले शुक्रबार थप अनुसन्धानका लागि जिल्ला अदालतबाट २० दिन म्याद थप गरेको थियो ।

लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा छन् ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *