नुवाकोटमा हेलिकप्टर दुर्घटना, चार चिनियाँ यात्रु र नेपाली पाइलटको मृत्यु

काठमाडाैं । एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेंंसीका लागि उडेको ‘९एन-एजेडी’ हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी–७ स्थित सुइरेचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले बताए।

दुर्घटनास्थल पुगेको प्रहरी टोलीले पाँच जनाको शव भेटिएको जानकारी गराएको छ। हेलिकोप्टरमा चालक अरुण मल्ल सहित पाँच जना सवार थिए।

चिनियाँ नागरिक जुदाड टाङ, जिई ली, यियाद वु र जेमिङ सी काठमाडौंबाट स्याफ्रुबेंसी गएका थिए। उनीहरूलाई स्याफ्रुबेंसी पुर्‍याएर त्यहाँबाट विदेशी नागरिकलाई काठमाडौं ल्याउने तालिका थियो।

उडेको तीन मिनेटमै टावरसँग हेलिकोप्टरको सम्पर्कविच्छेद

सुइरेचौरमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकोप्टर उडेको तीन मिनेटमै काठमाडौंको टावरसँग सम्पर्कविच्छेद भएको जनाइएको छ।

चार जना चिनियाँ पर्यटक बोकेर एअर डाइनेस्टीको ‘९एन–एजेडी’ हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। बुधबार अपराह्न १:५४ मा उडेको हेलिकोप्टरको १:५७ मा काठमाडौंको टावरसँग सम्पर्क टुटेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडेको तीन मिनेटमै काठमाडौंको टावरसँग सम्पर्कविच्छेद भएको जनाएको छ। त्यसको केही बेरमै नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरेचौरमा दुर्घटना भएको केन्द्रले उल्लेख गरेको छ।

दुई सातामै दोस्रो हवाई दुर्घटना, कुल २३ जनाको मृत्यु

दुई सातामै दुई वटा हवाई दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन्।
दुई साताअघि साउन ९ मा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको बम्बार्डियर ‘सीआरजे-२००’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ गर्ने बित्तिकै दुर्घटना भएको थियो। विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा चालक मनीष शाक्य घाइते भएका थिए। तत्कालै उद्धार गरिएका शाक्य उपचारपछि घर फर्किसकेका छन्।

सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ कल साइनको विमान बिहान ११:११ मा उडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो। उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा खसेको थियो।

हेलिकप्टर दुर्घटनाको शृङ्खला

गत वर्ष मे महिनामा सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु भएको थियो।

त्यसै वर्ष जुलाईमा सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु भएको थियो।

यसअघि सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

केही वर्षअघि नेपालमा हेलिकप्टर उडानहरूको ‘खराब रेकर्ड’ भन्दै युरोपेली सङ्घ (ईयू) ले आफ्नो हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको थियो।

तस्बिरको क्याप्शन,गत वर्ष सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका-४ सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाा परेको थियो

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा नेपालमा १० वर्षमा बर्सेनि हेलिकप्टर दुर्घटना हुँदै आएको देखिन्छ।

नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुने गरेका छन्।

अहिले पर्यटकहरूमाझ ‘हेलिट्रेक’ पनि लोकप्रिय भएको पाइन्छ। पर्यटकहरू हेलिकप्टर चढेर हिमाली भेग जाने गरेका छन्।

केही हेलिकप्टर दुर्घटना

मे २०२३ – सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु

जुलाई २०२३ – सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु

फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु

सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु

मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु

जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के

सन् १९८९ – लाङटाङमा भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *