वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?

सम्झना महर्जन,
काठमाडौं । गएको माघ १७ गते बुधबार विहान पूर्व यातायात मन्त्री वसन्त नेम्बाङ ताप्लेजुङको जिल्ला बैठकमा थिए । पाँचथरका प्रतिनिधिसभा सदस्य एमाले नेता नेम्बाङ, जिल्ला कमिटिको सचिवालय बैठकमा भाग लिन गएका थिए । विहान साढे ११ बजेतिर बोल्दाबोल्दै उनी एक्कासी ढले । उनको एकापट्टि शरीरको भाग नचल्ने भयो । उनलाई सुरुमा जिल्ला अस्पताल र त्यसपछि त्यहि दिन हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइयो । अस्पताल लगिएपछि थाहा भयो, उनलाई ‘ब्रेन स्ट्रोक’ भएको भनेर । ललितपुर मेडिसिटी अस्पताल ल्याउँदा ल्याउँदै आठ घण्टा बितिसकेको थियो । अस्पताल ल्याउँदा स्थिति नाजुक थियो ।

चिकित्सकका अनुसार जब स्ट्रोकले हान्छ, प्रत्येक मिनेट बिरामीको १९ लाख नशा मर्न थाल्छन् । त्यसैले जतिसक्दो छिटो अस्पताल लैजानै पर्छ । नेम्बाङलाई अस्पताल पु¥याएपछि, एमाले अध्यक्ष केपी आलीको तारन्तार फोन आउन थाल्यो । उनको चासो र चिन्ता थियो, ‘नेपालमै उपचार संभव नभए, हामी उनलाई विदेश लैजान्छौं ।’ ओलीको मुख्य चासो, मरेका नशालाई पुनःजीवन दिन सम्भव हुने नहुनेमा थियो । तर स्ट्रोकका कारण मरेका नशा पुनःजीवित बनाउने प्रविधि अहिलेसम्म विकास भएको छैन । डाक्टर टोलीले ओलीलाई भन्यो, ‘प्रत्येक मिनेट १९ लाख नशा मर्दैजाने बिरामीलाई यहि हालतमा विदेश लैजानु भनेको थप नसाहरु मर्दै जानु हो । एक हिसाबले माया मार्नु समान हो, अति जोखिम हुन्छ ।’ त्यसपछि, ओली नेम्बाङलाई विदेश लैजाने योजनाबाट पन्छिए । हाल नेम्बाङ नियमित परीक्षण र थेरापीमा छन् । उनलाई जटिल खालको पक्षघात भएको छ । पत्रकार सम्मेलनमा उनले सबैलाई नमस्कार गरे । उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मेडिसिटीमा डाक्टरको बधाइ थाप्दै नेता नेम्बाङ

सामान्यतया, मस्तिष्क घात दुई प्रकारका हुन्छन्,–‘नसा फुटेर रगत बग्ने र अर्को नसाभित्रै रगत जम्ने ।’ रगत जम्नेगरी भएको स्ट्रोकका बिरामीको खप्पर नै चिर्र्ने, फुकाल्ने गर्नुपर्छ । तर मेडिसिटीले, नेम्बाङको खप्पर नचिरिकनै सुरक्षित र कम जोखिमयुक्त उपचार विधि इन्टरभेनसनलको सहायता लियो ।

स्ट्रोक भएको चारदेखि ६ घण्टामा अस्पताल लैजान सकेमा बिरामीलाई पक्षघातबाट सजिलै जोगाउन सकिने न्युरो सर्जनहरुको जिकिर छ । ‘यो अवधिमा अस्पताल पु¥याउन सकेमा बिरामीलाई रगत पातलो गर्ने औषधिबाटै निको पार्न सकिन्छ’, नेपालकै पहिलो महिला न्युरो इन्र्टभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्कीले भनिन् ।

विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट प्राय सबै किसिमको न्यूरो सर्जरी सम्बन्धि रोगको उपचार गर्दै आएको मेडिसिटीले ढिलोमा १८ घण्टाभित्र आइपुगेका बिरामीको समेत सफल शल्यक्रिया गरेको छ । पूर्व यातायातमन्त्री नेम्बाङलाई स्ट्रोक भएको ८ घण्टामा अस्पताल ल्याइएको भए पनि चिरफार बिनाकै सफल शल्यक्रिया भएको अस्पतालको जिकिर छ । ‘आठ घण्टामा अस्पताल ल्याइएएपछि, नेम्बाङको मस्तिष्कमा अत्यधिक क्षति हुदै गएको थियो, त्यसैले हामीले चिरफारभन्दा, इन्टर्भेन्सनल सर्जरीको सहायता लियौँ’ डा. कार्कीले भनिन्।

मेडिसिटी अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वमै ब्रेन स्ट्रोक अर्थात् मष्तिस्कघात हुनेको संख्या बढ्दैछ । विश्वमै हृदयाघात पछि मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक पर्छ । विश्वमा एक करोड ५० लाखलाई वर्षेनी स्ट्रोक हुने गरेकोमा ५० लाख माानिसको उपचारकाक्रममा मृत्यु हुने गरेको छ । बाँकी ५० लाखलाई पक्षघात भएर अपाङता र ५० लाखले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँँच्न पाएको विभिन्न अध्ययनहरुले देखाएका छन् । हाल मेडिसिटीले स्ट्रोकको उपचारमा विश्वका ९९ राष्ट्रले अपनाएको उच्चस्तरको विधि अबलम्बन गर्ने गरेको डा. पोखरेलको भनाइ छ । तर, मेरुदण्डको रोग पहिचान र उपचारका लागि गरिने बायोप्सी जाँच भने अझै पनि भारत मै पठाउनुपर्ने बाध्यता छ ।

हाल २ हजार भन्दा बढी ब्रेन सर्जरी गरिसकेको अस्पतालले चाडै नै कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याउन लागेको न्युरो विभागका प्रमुख प्रा. डा. गोपालरमण शर्माले जानकारी दिए । करीब तीन दशकदेखि यो क्षेत्रमा कार्यरत शर्माले २० हजारभन्दा बढी न्युरो सर्जरी गरिसकेका छन् ।

भयावह बन्दैगएको स्ट्रोक लगायतका नसर्ने रोगको पहिचानका लागि सरकारले खासै ध्यान नदिएर, सर्ने खालका रोगको लागि मात्रै बजेट छुट्याउने गरेकोमा शर्माको असहमति छ ।

टाउको नखोलिकन स्टोकको उपचार सम्भवः स्टोक हुदा प्रत्येक मिनेटमा १९ लाख नशा मर्छन् ।

मेडिसिटी अस्पतालले विगत एक वर्षदेखि टाउको नखोलिकन स्ट्रोकको उपचार गर्दै आएको छ । टाउको खोलेर गर्ने उपचारभन्दा यसमा जोखिम निकै कम हुनुको साथै खर्च पनि कम लाग्ने गरेको छ । ब्रेन सर्जरी गर्दा धेरै नचिरीकन वा खप्पर नखोलिकन दुरविनबाट गरीने शल्यक्रिया नन्इन्भेसिभ सर्जरी सेवा हो । यस्तो सर्जरी गर्दा विरामी चाँडै निको हुने र अस्पतालको बसाइ पनि कम हुने गरेको न्युरो इन्र्टभेन्सनल न्युरो सर्जन डा. कार्कीको अनुभव छ । उनको भनाइ छ, ‘नन्इन्भेसिभ सर्जरी गर्दा ६ देखि ८ लाख रुपैयाँसम्म लाग्ने र अस्पतालको बसाइ कम हुनुको साथै जोखिम पनि हुन्छ ।’ डा. कार्की, ‘स्ट्रोक हुदा हरेक मिनेटमा १९ लाख नशा मर्छन्, ४ देखि ८ घण्टामा स्ट्रोकको उपचार हुने अस्पताल पु¥याउन सकेमा नशाहरुलाई मर्नबाट जोगाउन सकिन्छ र गुणस्तरीय जीवन फिर्ता गराउन सकिन्छ’ भन्नेमा दृढ छिन् । यदि, स्ट्रोक भएको १८ घण्टाभित्र अस्पताल पुरयाउन सकिएन भने तीब्र गतिमा नशाहरु मर्दै गएर पक्षधात र अपाङता हुने सम्भावना अधिक हुन्छ । स्ट्रोकको छिटो पहिचानका लागि सबैभन्दा भरपर्दो र उपयुक्त विधि एम.आर.आई गर्नुपर्ने डा. कार्कीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *