गुजरात टाइटन्स विरूद्ध पञ्जाब किंग्सकाे राेमाञ्चक जीत

काठमाडाैं । आईपीएल क्रिकेटमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा युवा अलराउन्डर शशांक सिंहको विस्फोटक इनिङ्सको मद्दतले पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको हो । योसँगै पञ्जाबले यो सिजनको सबैभन्दा ठूलो स्कोर चेज गरेकाे छ ।

पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले पञ्जाबलाई २ सय रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाब किंग्सले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर यो लक्ष्य पूरा गरेको हो । आईपीएलको इतिहासमा पञ्जाबले २०० वा सोभन्दा बढीको लक्ष्य पछ्याएको यो पाँचौं पटक हो। पञ्जाबका लागि शशांक सिंहले उत्कृष्ट व्याटिङ गर्दै अर्धशतक बनाएर टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। शशांकले २९ बलमा छ चौका र चार चौकाको मद्दतले अविजित ६१ रन बनाए ।

शशांकका अलावा इम्प्याक्ट प्लेयरका रूपमा आएका आशुतोष सिंहले १७ बलमा तीन चौका र एक छक्काको मद्दतले ३१ रन बनाए । दुवैले सातौं विकेटका लागि ४३ रनको साझेदारी गरे । जसको मद्दतमा पञ्जाबले यस खेलमा प्रारम्भिक विकेट पतनपछि पुनरागमन गरेको थियो ।

यी दुई बाहेक विकेटकिपर ब्याट्सम्यान प्रभासिम्रान सिंहले २४ बलमा ३५ र जोनी बेयरस्टोले १३ बलमा २२ रनको योगदान दिए । गुजरात टाइटन्सका लागि नूर अहमदले २ विकेट लिए भने उमेश यादव, दर्शन नलकन्दे, रसिद खान, अजमातुल्लाह ओमरजाई र मोहित शर्माले एक एक विकेट लिए । शशांक उत्कृष्ट इनिङ्सका लागि प्लेयर अफ द म्याच चुनिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा चार विकेट गुमाएर १९९ रन बनाएको थियो । गुजरातका लागि गिलले ४८ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ८९ रनको अविजित इनिङ खेले। गिल यो सिजन सर्वाधिक व्यक्तिगत स्कोर गर्ने खेलाडी बनेका छन् । उनका अलावा साई सुदर्शनले १९ बलमा ३३ रन, राहुल तेवाटियाले आठ बलमा २३ रन र केन विलियम्सनले २२ बलमा २६ रनको योगदान दिए । पञ्जाब किंग्सका लागि कागिसो रबाडाले २, हर्षल पटेल र हरप्रीत ब्रारले एक एक विकेट लिए ।

अन्तिम ओभरको रोमाञ्चक खेल

पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि सात रन आवश्यक थियो र तीन विकेट बाँकी थियो। गुजरातका लागि नलकन्दे बलिङ गर्न आएका थिए । उनले आशुतोषलाई पहिलो बलमा रसिदको हातमा क्याच आउट गराएर प्याभिलियन पठाए। उनको अर्को बल वाइड घोषित भयो। नयाँ ब्याट्सम्यानको रुपमा आएका हरप्रीत ब्रारले अर्को बलमा रन लिन सकेनन् र तेस्रो बलमा रन लिए । यसपछि पञ्जाबलाई तीन बलमा पाँच रन चाहिएको थियो। चौथो बलमा शशांकले चौका प्रहार गरे र स्कोर बराबरी भयो । लेग बाई मार्फत पाँचौं बलमा रन बनायो र पञ्जाबले रोमाञ्चक जित दर्ता गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *