केकेआरले दिल्लीलाई घरेलु मैदानमै हरायो, पन्त–स्टब्सको अर्धशतक बेकार

काठमाडाैं । इन्डियन प्रिमियर लिग (IPL) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १०६ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ । विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । यो आईपीएलमा दोस्रो उच्च स्कोर हो। कोलकाताको लागि भने याे नै सबैभन्दा ठूलो स्कोर  हो। यसअघि २०१८ मा पञ्जाबविरुद्ध ६ विकेटमा २४५ रन बनाएकाे थियाे ।

जवाफमा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा सीमित भयो। चार खेलमा दिल्लीको यो तेस्रो हार हो। योसँगै कोलकाताले जितको ह्याट्रिक गरेको छ । टोलीले अहिलेसम्म तीनवटै खेल जितेको छ ।

दिल्लीका लागि कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतक बनाए । टोलीका अन्य ब्याट्सम्यानले खास राम्राे प्रदर्शन गर्न सकेनन् । पन्तले २५ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५५ रन बनाए । जहाँ स्टब्सले ३२ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ५४ रनको इनिङ खेले। केकेआरका लागि वैभव अरोराले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनका अलावा स्पिनर वरुण चक्रवर्तीले तीन, मिचेल स्टार्कले दुई, सुनिल नारायण र आन्द्रे रसेलले एक–एक विकेट लिए ।

यसअघि अलराउन्डर सुनिल नारायण र आन्द्रे रसेलको विस्फोटक इनिङ्सको मद्दतमा केकेआरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७२ रन बनाएको थियो। सुनिल नारायणले ३९ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै ८५ रन बनाए । रसेलले १९ बलमा ४१ रनको इनिङ खेले । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । अङ्क्रिश रघुवंशीले २७ बलमा ५४ र रिंकु सिंहले ८ बलमा २६ रन बनाए । दिल्लीका लागि एनरिच नोर्टजेले ३, इशान्त शर्माले २, मिचेल मार्स र खलिल अहमदले एक एक विकेट लिए ।

यो जितसँगै कोलकाता ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । योसँगै दिल्लीको टोली नवौं स्थानमा पुगेको छ । यसमा दुई अंक छन्। कोलकाताले अर्को खेल चेन्नई सुपर किंग्ससँग अप्रिल ८ मा चेन्नईमा खेल्नुपर्नेछ । त्यस्तै दिल्लीले आफ्नो अर्को खेल ७ अप्रिलमा मुम्बई इन्डियन्ससँग वानखेडेमा खेल्नेछ ।

कोलकाताको दोस्रो ठूलो जित

यो रनको अन्तरले कोलकाताको दोस्रो ठूलो जित हो। यसअघि सन् २००८ मा बेङ्लुरुलाई १४० रनले पराजित गरेको थियो । योसँगै दिल्लीको यो रनको अन्तरले दोस्रो ठूलो हार हो। २०१७ मा मुम्बईले १४६ रनले हराएको थियो।

आईपीएलमा कोलकाताको सबैभन्दा ठूलो जीत (रनले)

  • १४०: विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, बेंगलुरु, २००८
  • १०६: विरुद्ध दिल्ली क्यापिटल्स, विशाखापट्टनम, 2024 (यस खेलमा)
  • ८६: विरुद्ध राजस्थान रोयल्स, इडेन गार्डेन, २०१७
  • ८२: विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, इडेन गार्डेन, २०२३

आईपीएलमा दिल्लीको सबैभन्दा ठूलो हार (रनले)

  • १४६: विरुद्ध मुम्बई इन्डियन्स, दिल्ली, २०१७
  • १०६: विरुद्ध कोलकाता नाइट राइडर्स, विशाखापट्टनम, 2024 (यस खेलमा)
  • १०५: विरुद्ध राजस्थान रोयल्स, वानखेडे, २००८
  • ९८: विरुद्ध मुम्बई इन्डियन्स, दिल्ली, २०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *