नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

१२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गरेको थियो। तेस्रो ओभरमा दुवै ओपनर गुमाएर धर्मराएको नेपाली इनिङ्स कप्तान रोहित कुमार पौडेल र गुल्सन झाले सम्हाले ।

पौडेलले ४६ र गुल्सनले ३८ रन बनाए । कुशल भूर्तेल १२ र आसिफ शेख ८ रनमा पेभेलियन फर्किएका थिए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले ३ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स १९.३ ओभरमा १२० रन बनाएर अलआउट भयो।

नेदरल्याण्ड्सलाई सस्तैमा प्याक गर्न प्रतिस जिसीले ३ विकेट लिए । प्लेयर अफ द म्याच भएका उनले नवौं ओभरमा २ विकेट लिएका थिए ।

करण केसीले पहिलो ओभरमा नै २ विकेट लिएपछि डच टोली दबाबमा आएको थियो । उनले माइकल लेभिट र साईब्राण्ड एन्गलब्रेचलाई चौथो र छैठौं बलमा आउट गरे। कुशल मल्लले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

भोलि हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । नामिबियाले फाइनलमा पुग्न ठूलो अन्तरले जित हासिल गर्नुपर्ने छ । त्यस्तो अवस्थामा नेदरल्याण्ड्स नेट रनरेटका आधारमा बाहिरिने छ ।

४ खेलमध्ये २ मा जित हासिल गरेको नेपाल ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। ३ खेलमध्ये २ मा जित हासिल गरेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। केवल १ मा जित हासिल गरेको नामिबिया भने पुछारमा छ।

०.३०९ नेटरनरेटसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। ०.२९३ नेटरनरेटसहित नेपाल दोस्रो स्थानमा छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *