वैदेशिक रोजगार बोर्डको सचिवालयले माग्यो ‘वैदेशिक रोजगार सन्तति छात्रवृत्ति’का लागि आवेदन

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि निवेदन दिन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएर करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकका छोराछोरीको लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन खुला गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले बताए ।

निर्देशक ढकालका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ गतेभित्र निवेदन दिन सकिने छ । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी अथवा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहँदा मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले यो छात्रवृत्तिका लागि निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताए ।

उनले भनेका छन्, ‘वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार रुपैयाँ र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति पाइनेछ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था बोर्डले गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *