सगरमाथा आरोहणमा ११ आरोहीले गुमाए ज्यान

काठमाडाैं । संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा यो याममा ११ जना आरोहीले ज्यान गुमाएका छन्।

सगरमाथा आरोहणका क्रममा शुक्रबार मात्रै दुई आरोहीको ज्यान गएको छ। शुक्रबार ज्यान गुमाएका दुई जनामध्ये एक जना मलेशियन नागरिक भएको खुलेको छ।

मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेका थिए। अचानक स्वास्थ्यमा समस्या आएपछि आधारशिविर फर्किने क्रममा चौथो शिविरमा पुग्दा उनको मृत्यु भएको पर्यटन विभागले जनाएको छ।

उनी पायोनियर एड्भेन्चर प्रालिको संयोजनमा रहेको आरोहण दलमा सहभागी थिए। त्यस्तै, शुक्रबार मृत्यु भएका अर्का आरोहीको परिचय खुल्न बाँकी रहेको विभागले जनाएको छ।

मौसमको खराबीका कारण यस वर्षको वसन्त याममा ढिलो गरी सगरमाथा आरोहण शुरू भएको थियो। वैशाख ३० मा ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) क्रममा ‘आइसफल डाक्टर’ को टोली सगरमाथाको शिखरमा पुगेको थियो। त्यसपछि आरोहीहरू सगरमाथाको चुचुरोतिर लागेका थिए।

यो याममा सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले हिमालखबरलाई बताए। सगरमाथा आधारशिविरबाट टेलिफोन संवादमा गौतमले भने, “सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन्।”

वसन्त ऋतुको यस याममा सगरमाथा आरोहण गर्न अहिलेसम्मकै सर्वाधिक आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएका हुन्। उनीहरूमध्ये ९८ महिला र ३६८ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोही छन्।

यही सिजनमा फेरि सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान बनाएका छन्। उनी जेठ ३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए।

अघिल्लो वर्ष २६ पटक सगरमाथा आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका कामीरिताले यस पटक फेरि सफल आरोहण गरेका छन्। योसँगै ५३ वर्षीय कामीरिता २७औं पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र आरोही भएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *