सांसद सिंहले प्रतिनिधिसभाको बैठकमै खोले कपडा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले कपडा खोलेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि उनले बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न चेतावनीसहित आग्रह गरे। उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

सभामुख घिमिरेले संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताउँदै सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउनका लागि चेतावनी दिए ।

त्यसरी चेतावनी दिइरहँदा पनि सांसद् सिंहले भने एकोहोरो विरोध जनाइरहेका थिए । त्यसको केहीबेरपछि उनले संसद्‌बाट बाहिरिँदै गर्दा आफूलाई भ्रष्टाचारसम्बन्धी विषयमा बोल्न समय नदिइएको भन्दै विरोध जनाएको बताए ।

विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । संसद् बैठकबाट बाहिरिएपछि  सांसद सिंहले ‘भ्रष्टाचारको विषयमा बोल्न समय नदिइएकाले बिराेध जनाएकाे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए ।

सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका हुन् ।

सभामुखले चेतावनी दिएको संसद् नियमावलीको नियम २१ मा के छ ?

सांसद् अमरेशकुमार सिंहले संसद्‌मै कपडा खोल्ने हर्कत गरेपछि सभामुख घिमिरेले संसद् नियमावलीको नियम २१ को ‘घ’ आकर्षित हुने बताए ।

संसद् नियमावलीको नियम २१ मा प्रतिनिधिसभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमको बारेमा उल्लेख गरिएको छ । उक्त नियमका अनुसार बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नुपर्नेछ-

(क) सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने,

(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

(ग) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,

(घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,

(ङ) बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

सांसद् सिंहले सभामुखको आग्रहलाई बेवास्ता गर्दै लुगा खोल्न थालेकाले उनलाई नियमावली २१ को ‘घ’ आकर्षित हुने भन्दै सभामुख घिमिरेले चेतावनी दिए । घिमिरेले सिंहलाई ठिक ढंगले बस्न भनेका थिए । सभामुखले भने, ‘फर्केर आएर बस्नुस् । सभ्यताका साथ नियमअनुसार आफ्नो कुरा राख्नहोस् । नियामावलीको ३० अन्तर्गत बैठकमा यस्ता खालको व्यवहार नगर्नुस् । थप अन्य कारबाही हुन सक्छ ।’

नियामावली ३० मा के छ ?

३०. चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *