हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन
काठमाडाैं। उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल अयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाण्डूमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो।
“नेपाल एअरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।
“त्रिभूवन विमानस्थलको राडारमा पनि दुइटा विमान नजिकै देखिएपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनिएको थियो।“
ठोक्किन सक्ने चेतावनी
नेपाल प्रवेश गर्ने जहाजहरू साधरणतया २०,००० फिट माथिबाट प्रवेश गर्ने र अवतरणको अनुमति पाएपछि क्रमशः उचाइ कम गर्दै विमानस्थलतर्फ अघि बढ्ने निरौलाले बताए। तर त्यतिबेला एअर इन्डियाको जहाजले अवतरणका लागि अनुमति पाइसकेको थिएन।
त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुई विमान कति नजिक थिए भन्ने विषय छानबिन समितिले अध्ययन गरिरहेको बताए।
“यति नै नजिक थिए भनेर अहिले नै भन्न सकिने अवस्था छैन तर नेपाल एअरलाइन्सको जहाजमा अलर्ट (चेतावनी) देखिएको रहेछ,” उनले भने।
अधिकारीहरूका अनुसार विमानमा रहने ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस) प्रणालीले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।
नेपाल एअरलाइन्सको विमानका चालकहरूले त्यस्तो चेतावनी आफ्नो जहाजमा आएको जानकारी प्राधिकरणलाई गराएको प्रवक्ता निरौलाले बताए।
“एनएसीको जहाजमा टीसीएस सक्रिय भएको रहेछ। त्यो भनेको विमानसँग अर्को विमान ठोक्किन सक्ने चेतावनी हो,” उनले भने।
“यस्तो चेतावनी एअर इन्डियाको विमानमा पनि देखिनुपर्ने हो तर उक्त विमानले त्यसको जानकारी प्राधिकरणलाई गराएन।”