रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्। राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।

उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।

राष्ट्रपति निर्वाचनमा ८३१ मत खसेका थिए। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका थिए।

राष्ट्रपति चुनावमा भएको मतदानअनुसार, संघीय संसद्तर्फ २४ हजार ७२७ र प्रदेशतर्फ २४ हजार ८६४ मतभार पुगेको थियो। जसको कूल मतभार ४९ हजार ५९१ रहेको थियो।

काे हुन् रामचन्द्र पाैडेल

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका रामचन्द्र पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए ।

२०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बने ।

२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे ।

२०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बनेका पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना/सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बने । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बने ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *