What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आईसीसी विश्वकप लिग-२ : घरेलु मैदानमा नेपालको शानदार जित
काठमाडाैं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो। नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी ४७.१ ओभरमा २४५ रनमै समेटियो।
पपुवा न्युगिनीका लागि टुना उरा र नर्मन भनुवाले अर्धशकत बनाए। उराले ४४ बलमा नौ चौका प्रहार गरे गर्दै ५० रन बनाए भने भनुवाले ५५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ६० रन बनाए।
त्यस्तै, कप्तान अशद भालाले ४२, किप्लिन डोरिगाले २६, रिले हेकुरले २० र चार्ल्स अमिनीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले चार, दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो। यो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि गत फेब्रुअरीमा त्रिवि मैदानमै भएको खेलमा नेपालले नामिबिया विरुद्धको खेलमा २८७ रन बनाएको थियो। जसमा सहज जित हासिल गरेको थियो।
नेपालका लागि आसिफ शेखले पहिलो शतक प्रहार गरे। उनले ११० बलमा ११० रन बनाए। जसमा १२ चौका र दुई छक्का समावेश छन्। यसअघि उनको उच्च स्कोर ९० रन थियो।
यससँगै उनले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्। उनले ३२ खेलमा एक हजार २० रन बनाएका छन्।
त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए।
पपुवा न्यूगिनीका लागि सेमो कमियाले पाँच, रिले हेकुरले तीन र अलेइ नावले एक विकेट लिए।
यो जितसँगै नेपालको दुई अंक थपिएको छ। लिग-२ को अंक तालिकामा पाँचौ स्थान रहेको नेपालको ३४ अंक पुगेको छ। अब एक खेल जितेमा नेपालको एकदिवसीय वरियता कायम रहनेछ।
कीर्तिपुरमा जारी त्रिदेशीय श्रृङ्खलाको दोस्रो खेल पपुवा न्युगिनी र यूएईबीच हुनेछ। नेपालको अर्को खेल फागुन २८ मा यूएईसँग हुनेछ।