यी हुन् नेपालमा भएका ठूला विमान दुर्घटना

काठमाडाैं । पछिल्ला तीन दशकमा २७ भन्दा बढी ठूला विमान दुर्घटना भएका छन्। आठ महीनाअघि २०७९ जेठ १५ गते पनि जोमसोम, मुस्ताङमा तारा एअरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो। पोखराबाट जोमसोमका लागि उडेको विमान खराब मौसमका कारण बीचमै दुर्घटना भएको थियो।

त्यसअघि २०७६ वैशाख १ गते समिट एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो।

त्यस्तै, २०७४ फागुन २८ गते बाङ्लादेशको ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो। यो विमानमा ७१ यात्रु सवार थिए।

त्यसै गरी २०७२ फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित सबै २३ जनाको ज्यान गएको थियो।

२०७० फागुन ४ मा नेपाल एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। पोखराबाट जोमसोमका लागि उडेको यो विमान खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको थियो।

यसअघि २०६९ असोज १२ गते सीता एअरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। काठमाडौंबाट लुक्लाका लागि उडेको यो विमान उडानको केही मिनेटभित्रै दुर्घटनामा परेको थियो।

२०६८ असोज ८ गते बुद्ध एअरको विमान दुर्घटनामा १९ जनाको ज्यान गएको थियो। माउन्टेल फ्लाइट गएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कंदै गरेको विमान कोटडाँडामा दुर्घटनामा परेको थियो।

यसअघि २०६७ मंसीर २४ गते तारा एअरको विमान दुर्घटनामा २२ जनाको ज्यान गएको थियो। लामिडाँडाबाट काठमाडौंका लागि उडेको यो विमानले उडेको केही बेरमै सम्पर्क गुमाएको थियो।

त्यस्तै, २०६५ असोज २२ गते यती एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुमेको थियो। काठमाडौंबाट लुक्लाका लागि उडेको यो विमान खराब मौसमका कारण दुर्घटना भएको मानिएको थियो।

नेपालको उड्डयन इतिहासमा १०० भन्दा धेरै दुर्घटनामा ८०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। दुर्घटनामा सर्वाधिक ठूलो मानव क्षति सन् १९९२ मा पाकिस्तान एअरलाइन्सको विमान दुर्घटनामा भएको थियो। कराँचीबाट काठमाडौं आउँदै गरेको यो विमान काठमाडौं आइपुग्नु अगावै दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो। सोही वर्ष थाई एअरको विमान दुर्घटनामा ९९ जनाको ज्यान गएको थियो।

विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो। उच्च डाँडाकाँडा, मौसमी कारण लगायतले गर्दा विमान दुर्घटना हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *