प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

प्रवक्ता आचार्यले प्रेस विज्ञप्ति जारी गरी संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न कुनै पनि दलको स्पष्ट बहमुत नआएकाले धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको जनाएका छन्।

कुनै पनि दलले बहुमत प्राप्त नगरेमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्छिन्। संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसमा प्रधानमन्त्री हुन चाहने सांसदले दुई वा दुईभन्दा बढी दलका सांसदको सहमति सहित राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्नुपर्छ। त्यही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी हुन्।

संवैधानिक व्यवस्था अनुसार, निर्वाचन आयोगले राष्ट्रपति समक्ष प्रतिनिधि सभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्छ। आयोगले मंसीर २९ गते राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको थियो।

संविधानको धारा ७६ मा प्रधानमन्त्री चयनको व्यवस्था गरिएको छ। संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

अहिले कुनै पनि दलले बहुमत प्राप्त गरेका छैनन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सीट आवश्यक हुन्छ। कांग्रेसले ८९, नेकपा (एमाले)ले ७८, नेकपा (माओवादी केन्द्र)ले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपाले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०,

जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक-एक सीट जितेका छन्। त्यस्तै, पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न पुस १० गते साँझ ५ बजेसम्मको समय दिएकी छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *