हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?
म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।
गलेश्वर । आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ ।
मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ ।
“गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो ।
“गौँथली आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौँथली ? घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्न मुस्किल छ”, बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो ।
गौँथली हराउनुका थुप्रै कारण भएको विज्ञको भनाइ छ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले माटोका घर भत्किएपछि भूकम्पबाट प्रभावित जिल्लामा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ । “केही वर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिँदैनन्”, ज्यामरुककोटका ८९ वर्षीय खड्गबहादुर घिमिरेले भन्नुभयो ।
विभिन्न समयमा हुने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभावलगायत विविध कारणले गर्दा गौँथली नासिदै गएका वन डिभिजन कार्यालय म्याग्दीका
निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदूषणका कारणले गौँथली सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ ।
दुई दशक अघिसम्म म्याग्दीका घरैपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसकेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा यिनीहरू लोप भइरहेका छन् । किसानले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरूको खानामा असर परेको देखिन्छ ।
हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ ।
सामान्यतया आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जीउको रङ खैरो र कालो हुन्छ भने पेटतिरको भागको रङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराको भन्दा बेग्लै किसिमको हुने चराविद् सापकोटाले बताउनुभयो ।
“अरु चराले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलोभित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाउँछ । यसले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने गर्छ । गौँथली प्रायः जोडी बनाएर बस्ने गर्छन्”, सापकोटाले भन्नुभयो ।
मानव बस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउदा यिनीहरूको संरक्षण हुन नसकेको उहाँको भनाइ छ । गौँथली चराको विशेषता र सुन्दरतालाई वर्णन गर्दै धेरै साहित्यकारले साहित्यको रचना गरेका छन् । सधँै जोडी बनेर बस्ने गौँथली घर वरिपरि नै बस्न रुचाउने गर्दछ ।