What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अन्तिम नतिजा नआउँदै कमल थापाले गरे हार स्वीकार
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न (सूर्य) लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थापाले मत गणना जारी रहेकै बेला बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पराजय स्वीकार गरेका हुन्।
‘पराजयलाई सहर्ष स्वीकार गर्दछु। हामीलाई मत दिनुहुने सबैमा आभार’, थापाले लेखेका छन्, ‘सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद।’
उनले आफ्ना लागि चुनावी प्रचारमा खटिने एमालेका नेता/कार्यकर्ता तथा राप्रपा नेपालका सहकर्मीप्रति पनि आभार प्रकट गरेका छन्।
यस क्रममा उनले २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा सशक्त सन्देश दिएको उल्लेख गर्दै भनेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हार–जित स्वाभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’
तर सनातन धर्म–संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उनले उल्लेख गरेका छन्।
यसैबीच यो खबर लेख्दासम्म मकवानपुर–१ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपकबहादुर सिंहले २५ हजार १४८, नेपाली कांग्रेसकी उम्मेदवार डिना संग्रौलाले २४ हजार २१२ र राप्रपा नेपालका उम्मेदवार कमल थापाले २३ हजार ६९४ मत पाएका छन्।
अब दुईवटा वडाको मत गन्न मात्र बाँकी रहेको बताइएको छ।