एमालेले पार गर्‍यो समानुपातिक ‘थ्रेसहोल्ड’

काठमाडाैं । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ को सम्भावित तीन प्रतिशत मत पार गर्ने पहिलो दल नेकपा (एमाले) बनेको छ।

समानुपातिकतर्फको जारी मतगणनामा देशभरिमा एमालेले तीन लाख पाँच हजार ८०३ मत ल्याएको छ। मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क अनुसार समानुपातिकतर्फको सीट पाउन दलहरूले कम्तीमा करीब दुई लाख ८९ हजारदेखि तीन लाख मत ल्याउनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार, देशभरिमा एक करोड ७९ लाख ८८ हजार मतदाता छन्। कुल मतदाताको ६१ प्रतिशत अर्थात् एक करोड १० लाख हाराहारीले मतदानमा भाग लिएका थिए। यो सबै मत समानुपातिक प्रणालीको सीट बाँडफाँडका लागि गणना हुँदैन।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तीन प्रतिशत हाराहारीमा मत बदर भएको थियो। यो निर्वाचनमा पनि सोही सरह मत बदर भएको मान्दा एक करोड सात लाख हाराहारीमा मत समानुपातिक प्रणालीका लागि गणना हुन सक्छ।

यद्यपि, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ मा तीन प्रतिशत नपुर्‍याउने दलको मत समानुपातिक सीट बाँडफाँडका लागि गणना नहुने उल्लेख छ। ऐनको दफा ६० (१२) ले ‘दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भनिएको छ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ‘थ्रेसहोल्ड’ पार नगरेका साना दलले पाएको करीब १० प्रतिशत मत समानुपातिक सीट बाँडफाँडका लागि गणना गरिएको थिएन। यस पटक पनि त्यसैलाई आधार बनाएर १० प्रतिशत मत ‘थ्रेसहोल्ड’ पार नगर्ने साना दलका लागि छुट्याउने हो भने करीब ९६ लाख ३० हजार हाराहारीमा मत ११० वटा समानुपातिक प्रणालीको सीट बाँडफाँडमा गणना हुन सक्छ।

मतपरिणाम विभाजक सूत्रका आधारमा ‘थ्रेसहोल्ड’ पार गरेका दलले समानुपातिक सीट पाउँछन्। त्यसो हुँदा, समानुपातिक सीट पाउन राजनीतिक दलले कम्तीमा दुई लाख ८९ हजार हाराहारीमा मत ल्याउनुपर्ने अनुमान छ। यद्यपि, यो अनुमान अन्तिम होइन, बदर मत संख्या तथा ‘थ्रेसहोल्ड’ पार नगर्ने साना दलले पाउने मतका आधारमा अन्तिम गणना आधार तय हुन्छ।

एमालले यो सम्भावित ‘थ्रेसहोल्ड’ पार गरेको छ।

नेपाली कांग्रेसले पनि एमालेलाई पछ्याउँदै बुधबार साँझसम्म दुई लाख ८५ हजार ४०७ समानुपातिक मत पाएको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार १३८ मत पाएको छ।

अहिलेसम्म मत परिणामका आधारमा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *