हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कडा चेतावनी– तत्काल कारबाहीदेखि विज्ञापन रोक्नेसम्म !
काठमाडौं। प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने चेतावनी दिएको छ ।
काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहीबार राती १२:०० बजेसम्म रहेकाले तत्पश्चात् प्रचारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराउँदै चेतावनी समेत दिएको छ ।
‘स्थिर समय सुरू हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्वीर, चुनाव चिह्न अङ्कित झण्डा/ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदा समेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न/नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ,’ काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचार–प्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक–शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरू भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।
‘मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्घन/वर्गीकरण एवम् लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवम् सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’
काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा विशेष अपिल गर्दै निर्वाचनको सन्दर्भमा निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गरी जनतालई सुसूचित गर्न आमसञ्चार क्षेत्रले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसासमेत गरेको छ ।
सरकारी माध्यम एनटीभीलाई गरायो सचेत
प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ । हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटीभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको काउन्सिलले जनाएको छ ।
तीन दिनअघि नै काउन्सिलले त्यस्ता सामग्रीको क्लीप झिकाउन पत्र काटेको थियो । त्यसैका आधारमा काउन्सिलले पत्र काटेको बताइएको छ । ‘उपर्युक्त सम्बन्धमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता नियमित अनुगमनका साथै यही ०७९ मंसिर ०४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्र्दभमा सञ्चार माध्यमहरूमा आचारसंहिता पालना भए/नभएको विषयमा समेत अनुगमन गरिरहेको यहाँलाई जानकारी गराउँदछौ,’ काउन्सिलले नेपाल टेलिभिजनलाई भनेको छ ।
कुनै राजनीतिक दल एवम् गठबन्धनका उम्मेदवारहरूको घरदैलो अभियानदेखि विभिन्न सभा/सम्मेलनमा बोलेको सामग्री एवम् निवार्चनको गतिविधिलाई मात्रै बारम्बार प्राथमिकताका साथ स्थान दिइएको र अन्य दलका सामग्रीलाई अत्यन्तै न्यून स्थान दिई सम्प्रेषण भएको प्रारम्भिक अनुगमनबाट देखिन आएको छ र जसबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(६) र निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (ख) र २५(च) आकर्षित भएको भन्दै रोक्नका लागि पत्र पठाएको काउन्सिलका एक सदस्यले जानकारी दिए ।
‘निर्वाचनको सन्दर्भमा कुनै राजनीतिक दल वा दलका उम्मदवारलाई मात्र प्राथमिकतामा राखी निर्वाचनमा भाग लिने अन्य कुनै दललाई न्युन स्थान प्रदान गर्नुले सन्तुलन गुम्न जाने हुँदा पत्रकारिताको निष्पक्षता, विश्सनियता र पेसागत मर्यादा कायम राख्दै सामग्रीको सन्तुलनमा सावधानी अपनाउनतर्फ समेत निर्णयानुसार सचेत गराइन्छ,’ पत्रमा भनिएको छ ।