म्याग्दीमा निर्वाचनमा खटिएका मतदान अधिकृतलाई तालिम सुरु

म्याग्दी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबारदेखि तालिम दिन सुरु भएको छ । म्याग्दीमा मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचनसम्बन्धी अभिमुखीकरण दिन थालिएको हो ।

बेनी बजारस्थित बेनी सामुदायिक विद्यालयको मतदान स्थलमा मतदान अधिकृतहरूलाई तालिमको व्यवस्था गरिएको छ । तालिममा सहभागी भएका अधिकृतहरूलाई नमुना मतदान केन्द्र निर्माण गरी नमुना मतदान समेत गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचनसम्बन्धी विषयमा अभिमुखीकरण गर्नुहुनेछ ।

मतदान अधिकृतहरूलाई व्यवहारिक र सैद्धान्तिक विषयमा जानकारी गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनसम्बन्धी ऐन कानुन, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्याहरू, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम,

जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझे पश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइने जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार १२० जना र आइतबार १२० जना गरी २४० जनालाई अभिमुखीकरण गरिने छ ।

जिल्लामा ८२ मतदान स्थल, ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन गराउन ९८६ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तिनपदका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *