पाल्पामा कात्तिक १८ गतेदेखि चिच्याएर वर माग्ने मेला

रामपुर (पाल्पा) । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ ।

पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ ।

यो वर्ष राम्रो जोग परेकाले पाँच दिनसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । उनका अनुसार दुई वर्ष कोभिडका कारण चहलपहल नभएको मेला यो वर्ष भव्यरूपमा सञ्चालन गरिनेछ ।

मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन छ । धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।

किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । भक्तजनलाई सहजरूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने स्थानीयवासी ध्रुवप्रसाद पंगेनी बताउँछन् ।

यसवर्ष राम्रो जोग परेकाले एक लाखभन्दा बढी दर्शनार्थी भित्रिने समितिको अनुमान छ । मेलालाई मध्यनजर गर्दै मन्दिरसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको पूर्वाधार व्यवस्थापनका कामहरू भइरहेका छन् ।

चौबीस माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने पालिकाले जनाएको छ । परापुर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *