सय दिनमा सुनिताको १५ काम र १० योजना शुरु

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गर्दै इन्द्र जात्राको ऐतिहासिक र सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएकी छिन् ।

एक सय दिनमा १५ काम र १० योजनाको शुरुवात गरेको बताउने उपमेयर डंगोलले इन्द्र जात्राको अवसर पारेर देश भित्र र बाहिर काठमाडौं महानगरसँग भगिनी सम्बन्ध कायम गरेका सबै नगरपालिकालाई आमन्त्रण गरिएको बताए ।

उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँबासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन्।

उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको श्वेतपत्रमा उल्लेख छ । उनले सोही क्रममा स्थानीय भाषाको अध्ययन अध्यापनलाई निरन्तरता दिँदै नेपाल भाषाको डिजिटल शब्दकोष निर्माणको लागि सन्दर्भ सामाग्री तयार पार्ने क्रममा रहेको उल्लेख गरेका छन् ।

‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेसन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,’ उनले श्वेतपत्रमा भनेका छन् –‘पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ ।’

दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर मध्यपुर थिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उनीहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएको उनले श्वेतपत्रमा उल्लेख गरे ।

‘काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ,’ उनले भनिन्, ‘शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहीन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।’

करको दायरा बृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको कुरालगायलाई उनले श्वेतपत्रमा समेटेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *