सभापतिले कार्यकाल बढाउन खोजेको भन्दै कांग्रेसमा पौडेल समूह आक्रोशित

काठमाडौँ । सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाउन पार्टीको महासमिति बैठक पछि धकेल्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित भएको छ । गत वैशाखमै केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक गर्ने निर्णय लिएको थियो।

भदौमा महासमिति बैठक हुन नसके देउवा असफल बन्ने भन्दै पौडेल पक्षले उनीमाथि नैतिक प्रश्न तेस्र्याएको छ। ‘महासमिति पर धकलेर नियमित महाधिवेशन नगर्ने षड्यन्त्र हुँदै छ,’ पौडेलले सोमबार कान्तिपुरसँग भने, ‘आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पार्ने काम हुन दिनु हुन्न।’ अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भदौमा महासमिति बैठक हुन नसके देउवा असफल हुने बताए। आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा महासमिति सार्दै जाँदा देउवाले झनै प्रतिकूल वातावरण भोग्नुपर्ने उनको चेतावनी छ। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

देउवाले महासमिति पछि धकेल्दा डेढ वर्षपछि गर्नुपर्ने नियमित १४ औं महाधिवेशनसमेत प्रभावित हुने पौडेलले बताए। विधानमा असाधारण परिस्थिति परे त्यसको कारण खोली एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था छ। देउवा विधानको त्यही व्यवस्थामा टेकेर कार्यकाल लम्ब्याउने योजनामा लागेको बुझाइ पौडेल पक्षको छ।

उपसभापति विमलेन्द्र निधि भने त्यसलाई ठाडै अस्वीकार गर्छन्। ‘देउवाजीबाट महाधिवेशन लम्ब्याउने षड्यन्त्र भएको छैन, बरु पौडेलजीबाटै भएको छ,’ उनले भने, ‘सभापतिले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न नपाउँदा समस्या आएको हो।’ निधिका अनुसार पार्टीको विधान संशोधनका लागि समिति गठनमा पौडेलकै कारण ढिलाइ भएको हो। समितिले फास्ट ट्रयाकमा काम सके भदौभित्रै महासमिति बैठक हुन सक्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *