आयातसँगै व्यापार घाटा उच्चः वैदेशिक व्यापार १५ खर्बभन्दा बढी

काठमाडौं । विश्वव्यापी रुपमा को¥रोना महा¥मारीको असर बढीरहँदा नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि उच्चदरमा बढेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा अन्तर्राष्ट्रिय व्यापारका सबै सूचकमा भएको उच्चदरको वृद्धिका कारण नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि उच्चदरमा बढेको हो । सो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको भन्सार विभागले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ बराबर भएको थियो ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै आयात र निर्यात पनि बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालको कुल आयात १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबर भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ८१ करोड रुपैयाँको भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैया बराबरको भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३३ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार निर्यात बढ्नुका मुख्य कारण भटमास तेल (प्रशोधित) हो । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्छन् । त्यसलाई प्रशोधन गरेर भारत निर्यात गरिन्छ । चालु आर्थिक वर्षको ११ महिनामा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको तथ्याँक छ । त्यस्तै सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न दोस्रो नम्बरमा पर्दछ ।

सो अवधिमा ७ अर्ब १६ करोड रुपैयाँको सिन्थेटिक यार्न निर्यात भएको छ । यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा अलैंची ६ अर्ब ७० करोड, ऊनीको गलैंचा कार्पेट ६ अर्ब ४७ करोड, तयारी कपडा ४ अर्ब ६३ करोड, फलफूलको जुस ३ अर्ब ८२ करोड र जुटबाट बुनिएका कपडा ३ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ ।

विभागका अनसार चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । सो अवधिमा ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७८ अर्ब २१ करोड रुपैयाँ डिजेल आयात भएको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एमएस बिलेटको आयात झन्डै दोब्बरले वृद्धि भई ६५ अर्ब ३९ करोड रुपैयाँको भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यसको आयात ३८ अर्ब २७ करोड रुपैयाँ बराबर भएको थियो । चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ५९ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेलको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको मोबाइल टेलिफोन, ३३ अर्ब १५ करोड रुपैयाँको एलपी ग्यास, २८ अर्ब ८० करोड रुपैयाँको पेट्रोल, २७ अर्ब ७७ करोड रुपैयाँको तयारी कपडा र २६ अर्ब ४ करोड रुपैयाँको चामल भित्रिएको छ ।

निर्यातको तुलनामा आयात चुलिँदा व्यापार घाटा पनि उच्चदरमा बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँले बढेको छ । यो गत आर्थिक वर्षको तुलनामा २४.६१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँको व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *