गाडीमा यात्रा गर्दा वाकवाकी लाग्छ ? अपनाउनुहाेस् यी उपाय

काठमाडाैँ । के तपार्इँ पनि मोटर गाडी र हवाई जहाजमा यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनुहुन्छ ? सामान्य बाेलीचालीकाे भाषामा यस्ताे समस्यालार्इ गाडी लाग्नु भनिन्छ । यसलार्इ चिकित्सकीय भाषामा भने माेसन सिकनेस भनिन्छ । याे सामान्य समस्या भए पनि धेरैलार्इ सताइरहने समस्या हाे ।

चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिँगटा लाग्ने र वान्तासम्म हुने भएकाले व्यक्तिलाई कमजाेर एवं अालस्य बनाउँछ । त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात मोसन सिकनेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाब छ ।

गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा कान आदिले सन्तुलित ढंगबाट आआफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।

मोसन सिकनेसबाट बच्ने तरिकाः

पहिलाे कुरा त मानसिक रूपमा नै तयार हुनुपर्छ बान्ता हुन्छ की रिंगाटा लाग्छ की भन्ने जस्ता कुराहरू मनमा लिएर बस्नु हुँदैन । यस्तै गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ । गाडि लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ ।

त्यस्तै हावा अाउने गरी झ्यालपट्टीकाे सिटमा बस्ने प्रयास गर्नुपर्छ ।  कतिपयलार्इ ब्रेक तेल अथवा डिजेलकाे गन्ध मन नपर्ने पनि हुनसक्छ । त्यसैले गाडि राेकेकाे अवस्थामा बाहिर निस्केर फ्रेस  हावा लिनु पनि उपयुक्त हुन्छ ।  हाजमाेला कागति यस्तै हलुका अमिलाे पिराे मिश्रित पाउ खाँदा पनि बान्ता हुँदैन । खालीपेट यात्रा गर्नु पनि हुँदैन । चकटलेट खाँदा पनि राम्राे हुन्छ ।

कसलाई हुन्छ मोसन सिकनेस ?

हुन त याे समस्याले सबै उमेर समूहका मानिसहरूलार्इ सताइरहेकाे हुन्छ । त्यसमा पनि खास गरी दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन् । महिलालाई पनि बढी मोसन सिकनेस हुने गर्दछ । गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ । माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *